सुशील कोइराला मेमोरियल यू १९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्।
बाँकेको कोहलपुरमा आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई आठ रनले पराजित गरेको हो। आइतबार नै भएको अर्को खेलमा कोहलपुर मेयर-११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गरेको हो।
कोहलपुर क्रिकेट मैदानमा बागमती प्रदेशले २० ओभरको खेलमा लुम्बिनी प्रदेशसामु ११७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लुम्बिनीले ७ विकेटको क्षतिमा २० ओभरमा १०८ रनमात्रै बनाउन सकेको हो।
टस जितेर ब्याटिङ गरेको बागमतीले ४ विकेटको क्षतिमा ११६ रन बनाएको थियो।
बागमतीकी सोनी पाख्रिन प्लेयर अफ द म्याच घोषित भइन्।
यस्तै दोस्रो खेलमा कोलहपुर मेयर-११ ले गण्डकी प्रदेश सामु १०० रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा गण्डकीले ८ विकेटको क्षतिमा ६५ रनमात्रै बनाएको हो।
खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर–११ की हैमवती रोय घोषित भइन्।
यसअघि कोहलपुरले लुम्बिनी प्रदेशलाई पनि हराइसकेको छ।
प्रतियोगिता अन्तर्गत सोमबार पनि दुई खेल हुने आयोजकले जानकारी दिएको छ।
पहिलो खेलमा बिहान ९:३० बजे बागमती र सुदूरपश्चिम र दोस्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र लुम्बिनीका बीचमा प्रतिस्पर्धा हुने भएको छ।