तेस्रो एकदिवसीय खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।
खेलमा नेपालका लागि भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्। चौथो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले ७८ बलमा अर्धशतक पूरा गर्ने क्रममा ५ चौका प्रहार गरे।
उनले ३१ ओभरमा अर्धशतक पूरा गर्दा नेपालले १ विकेटको क्षतिमा १४७ रन जोडेको थियो।
भीमसँग ब्याटिङ गरिरहेका अनिल साहले पनि अर्धशतक प्रहार गरेका छन्। उनीहरुबीच सय रनभन्दा बढीको साझेदारी भइसकेको छ
अनिले ५१ बलमा ५० रन पूरा गरेका हुन्। सिरिजमा उनले लगातार दोस्रो अर्धशतक प्रहार गरे। अघिल्लो खेलमा उनले १९ बलमा अर्धशतक प्रहार गरेका थिए।
खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका छन्। हेलिङगरको बलमा बोल्ड हुनअघि उनले १४ बलमा ३ चौका प्रहार गरे।
नेपाललाई पेनाल्टीबाट पाँच रन
खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो।
क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ।
यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो। अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए।
जाफरका कारण नेपालले आफ्नो ब्याटिङ सुरु हुनुअघि नै पाँच रन पाएको थियो।
क्यानडाले जोड्यो २३२ रन
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो।
क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए।
त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। नेपालका लागि एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका धामीले चोटका कारण यू-१९ गुमाएका थिए।
निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १-१ विकेट लिए।
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ।
फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो।
लिग-२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।