नेपालले क्याडनाविरूद्धको तीन खेलको सिरिज ३-० ले जित्दै क्लिनस्विप गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा ९ विकेटको जितसँगै नेपालले सिरिज क्लिनस्विप गरेको हो।
नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको यो पहिलो पटक हो। यसअघि नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको सिरिज क्लिनस्विप दुई पटक क्लिनस्विप गरेको थियो।
नेपालका लागि एकै इनिङ्ग्समा दुई ब्याटरले शतक प्रहार गरेको यो पहिलो पटक हो। तेस्रो खेलमा नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे।
अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्।
खेलमा नेपालले अहिलेसम्मकै ठूलो साझेदारी समेत गर्यो। भीम र अनिलबीच दोस्रो विकेटका लागि नटआउट १८९ रनको साझेदारी भयो। यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गत वर्ष गरेका थिए।
खेलमा नेपालले पहिलो पटक पाँच रन पेनाल्टीबाट पाउँन सफल भयो। पहिलो इनिङ्ग्समा क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो। क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ। यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो। अम्पायरले उनलाई पिचमा कुदेर त्यसअघि पनि चेतावनी दिएका थिए। जाफरका कारण नेपालले आफ्नो ब्याटिङ सुरु हुनुअघि नै पाँच रन पाएको थियो।
क्यानडाविरुद्ध नेपालले हात पारेको जित विकेटको आधारमा दोस्रो ठूलो जित हो। नेपालले तेस्रो खेलमा ४४.३ ओभरमा पूरा गर्ने क्रममा १ विकेट मात्र गुमायो। यसअघि नेपालले पपुवा न्युगिनीविरुद्ध गत वर्ष ९ विकेटकै जित निकालेको थियो। त्यतिबेला नेपालले ९६ रनको लक्ष्य ७.४ ओभरमै पूरा गरेको थियो।
यस्तै दोस्रो खेलमा अनिलकुमार साहले १९ बलमा अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए। यो अर्धशतक नेपालका लागि एकदिवसीय खेलमा छिटो अर्धशतक हो।