क्यानडाविरूद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा शतक प्रहार गरेका अनिलकुमार साहले एक-एक बलमा केन्द्रित भएर खेलेको बताएका छन्।
‘हामीले यसका लागि अभ्यासमा गरेको हुन्छौं। कडा परिश्रम गरेका हुन्छौं,’ अनिलले भने, ‘अब यो शतक सकियो। अब अरु खेलमा तयारी गर्नुपर्छ।’
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा ९ विकेटको जितसँगै नेपालले सिरिज क्लिनस्विप गरेको हो। नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको यो पहिलो पटक हो।
यसअघि नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको सिरिज क्लिनस्विप दुई पटक क्लिनस्विप गरेको थियो। नेपालका लागि एकै इनिङ्ग्समा दुई ब्याटरले शतक प्रहार गरेको यो पहिलो पटक हो।
तेस्रो खेलमा नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्।
राष्ट्रिय टिममा उत्कृष्ट पुनरागमन गरेका अनिलले राष्ट्रिय टिममा पर्न खेलाडीबीच प्रतिस्पर्धा हुनु राम्रो भएको पनि बताए। खेलका क्रममा अर्धशतक बनाएपछि सेलिब्रेसन नगरेका अनिलले शतकपछि भने ठूलो खुसी मनाएका थिए।
उनले यसअघि एक अर्धशतक बनाइसकेका कारण सेलिब्रेसन नगरेको बताए। यस्तै भीमले खेल आफ्नो लागि अवसर भएको बताए।
‘आज मेरो लागि अवसर थियो। प्रधानमन्त्री कपमा पनि राम्रो खेल्न सकेको थिइन। २०-३० हानेपछि अघि बढ्न सकिरहेको थिएन। त्यसैले आजको खेललाई अवसरको रुपमा लिएको थिएँ,’ भीमले भने, ‘अनिल दाइसँग खेल्दा दबाबमा थिइन। उहाँ सकारात्मक सोचले खेल्ने ब्याटर हो। हामी दुवैको सेन्चुरी हुन सक्छ भन्ने कुरा पनि भइरहेको थियो।’