एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।
आज मलेसियामा भएको क्वार्टरफाइनलमा कुवेतमाथि नेपालले डिएलएस मेथडमा ८ विकेटको जित निकाल्यो। अब नेपालले फाइनल प्रवेशका लागि आयोजक मलेसियासँग शुक्रबार खेल्नेछ।
कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालले ६.५ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउदा खेल वर्षाले रोकिएको थियो।
नेपालकी कप्तान इन्दू बर्मा २२ रन र कविता जोशी ४ रन बनाएर खेलिरहेका थिए। त्यसअघि कविता कुँवर १ रन र सीता रानामगर १७ रनमा आउट भएका थिए।
सीताको ह्याट्रिकमा कुवेत ७३ रनमा अलआउट
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ओभरको तीन बलमा तीन विकेट लिएर नेपालकी सीता रानामगरले ह्याट्रिक गरिन्।
उनले ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबिडब्लूको धरापमा परिन्। अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन्।
ओभरको चौथो बलमा कुवेतकि कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबिडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन्।
सीताको ह्याट्रिकसँगै कुवेतलाई नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमा रोक्यो। उसका लागि प्रियदाले २९ रन जोडिन्।
बलिङमा नेपालकी सीताले ३ विकेट लिँदा रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिन सफल भए।