आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२४ देखि २०२६ सम्म एकदिवसीय मान्यता प्राप्त आठ एसोसिएट टिमबीच २४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछन्।
तीन वर्ष चल्ने लिग-२ को पहिलो सिरिज बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
तीन वर्षमा आठ टिमले नौं नौ वटा सिरिज खेल्नेछन्। प्रत्येक सिरिजमा एक टिमले ४ खेल खेल्नेछ। लिग-२ मा प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।
आइसिसीको तालिका अनुसार एक टिमले एक वर्षमा तीन सिरिज खेल्नेछ। प्रत्येक टिमका लागि एक वर्षमा एक सिरिज होम हुनेछ भने दुई सिरिज अवे हुनेछन्।
तीन वर्षमा नौ सिरिज मध्ये तीन सिरिज घरेलु मैदानम खेल्दा छ सिरिजका लागि दोस्रो देशको भ्रमण गर्नु पर्नेछ।
यो वर्ष नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेपछि अमेरिका र क्यानडा भ्रमण गर्नेछ।
सेप्टेम्बरमा क्याडनामा हुने सिरिजमा नेपाल, क्यानडा र ओमानबीच खेल हुनेछ। त्यसपछि नेपालले अमेरिकामा घरेलु टिमसहित स्कटल्यान्डसँग खेल्नेछ।
नेपालले २०२५ र २०२६ मा पनि तीन तीन सिरिज खेल्ने तालिका छ। आठ टिम मध्ये नेपाल नामिबियामा जानेछैन। यस्तै लिग-२ का लागि क्यानडाको टिम नेपाल भ्रमणमा आउनेछैन।
आठ टिमले कुल १४४ एकदिवसीय खेल खेलेपछि शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। यस्तै फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।
यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।
नेपालको लिग २ खेल तालिका
फेब्रुअरी २०२४ : नेपाल-नामिबिया-नेदरल्यान्ड्स : नेपाल आयोजक
सेप्टेम्बर २०२४ : क्यानडा-नेपाल-ओमान : क्यानडा आयोजक
अक्टोबर २०२४ : अमेरिका-नेपाल-स्कटल्यान्ड : अमेरिका आयोजक
मे २०२५ : स्कटल्यान्ड-नेदरल्यान्ड्स- नेपाल : स्कटल्यान्ड आयोजक
अक्टोबर २०२५ : युएई -नेपाल-अमेरिका : युएई आयोजक
नोभेम्बर २०२५ : नेपाल-ओमान-युएई : नेपाल आयोजक
अगस्ट २०२६ : नेदरल्यान्ड्स-नेपाल- नामिबिया : नेदरल्यान्ड्स आयोजक
अक्टोबर २०२६ : ओमान-नेपाल-क्यानडा : ओमान आयोजक
नोभेम्बर २०२६ : नेपाल-स्कटल्यान्ड- अमेरिका : नेपाल आयोजक
प्रत्येक सिरिजमा नेपालले दुवै प्रतिद्वन्द्वीसँग दुई पटक प्रतिस्पर्धा गर्नेछ।
हेर्नुहोस् आइसिसीको लिग-२ खेल तालिका :-