एसिसी यू-१९ एसिया कपका लागि नेपाली टोलीले नेपालमै अन्तिम तयारी गर्ने भएको छ। नेपाली टोलीले तयारीस्वरूप मुलपानी मैदानमा भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच वटा अभ्यास खेल खेल्ने भएको छ।
पाँच खेलको एकदिवसीय सिरिज भोलि कात्तिक २८ देखि सुरू हुनेछ। कात्तिक २८ मा पहिलो खेल खेलेपछि कात्तिक ३०, मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल खेल्नेछ।
यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन्। यसअघि कपका लागि नेपालले हेमन्त धामीको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिसकेको छ।
टोलीमा हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।
नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।