आइसिसी यू-१९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत कुवेतविरूद्ध नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी छिन्।
पूजाले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा नेपालले १६५ रनको जित निकालेको छ। पूजाले खेलमा शतक र पाँच विकेट लिँदै इतिहास रचिन्। उनी नेपालका लागि एकै खेलमा पाँच विकेट लिने र शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भइन्।
युएईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजाले शतक प्रहार गर्दै इतिहास बनाइन्। उनी नेपालको महिला यू-१९ टोलीका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याटर बनिन्।
पूजाले खेलमा नटआउट १३० रन जोडिन्। उनले ६९ बल खेल्दा १७ चौका प्रहार गरेकी थिइन्। सोनी पाख्रिनले नटआउट ४३ रन जोडेर पूजालाई राम्रो साथ दिइन्। सोनीले ३३ बलमा २ चौका प्रहार गरिन्।
पूजा र सोनीबीच नटआउट १५७ रनको साझेदारी भएको थियो। पूजा र सोनीको उत्कृष्ट ब्याटिङसँगै नेपालले २ विकेटको क्षतिमा २१३ रन जोडेको छ। यो नेपाली महिला यू-१९ टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो।
त्यसअघि ओपनरद्वय सना प्रवीन ६ रन र सावित्री धामी ११ रनमा आउट भएका थिए।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा आउट भयो। जससँगै नेपालले १६५ रनको जित निकाल्यो।
कुवेतका लागि जिफा जिलानीले ३६ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा पनि कप्तान पूजाले पाँच विकेट लिइन्। उनले ४ ओभरमा एक मेडन फ्याँक्दा ८ रन मात्र दिइन्। रचना चौधरी र सीमा केसीले २-२ विकेट लिए।
प्रतियोगितामा नेपालले पहिलो राउन्डको लिग खेलिसकेको छ। जसमा नेपालले कुवेत र थाइल्यान्डलाई पराजित गर्दा आयोजक युएईसँग भने हारेको थियो। नेपालले दोस्रो राउन्डको लिगमा थाइल्यान्ड र कुवेतसँग हराएपछि फेरि युएईसँग खेल्नेछ।
प्रतियोगिताबाट एक टोली आगामी जनावरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। नेपाललाई विश्वकपमा स्थान पक्का गर्न आजको खेल जितेसँगै युएई पराजित गर्नु पर्ने दबाब छ। नेपाल र युएईबीचको खेल बुधबार हुँदैछ।