क्यानडियन क्रिकेट अलराउन्डर साद बिन जफर नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन्।
२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास लुम्बिनीको विश्वास छ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए। उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन्।
बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिइ कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन्। नोभेम्बर २०२१ मा भएको पनामाविरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ।
लुम्बिनी लायन्सका लागि एनपिएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा म अत्यन्तै उत्साहित छु। मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउन चाहन्छु।’
एनपिएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ भने लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ।