सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले बुधबार जनकपुरमाथि सनसनीपूर्ण बलिङ गर्यो।
१२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले घातक बलिङ गर्दै ५१ रनमै अलआउट गर्दै ७२ रनको जित निकाल्यो।
यसअघि लगातार चार खेलमा जित निकालेको जनकपुरका शीर्ष ६ ब्याटर सुदूरपश्चिमविरूद्धको खेलमा दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। उसले चार ओभरमा ५ विकेट गुमाउँदा २८ रन जोडेको थियो। बाँकी ८ ओभरमा ५ विकेट गुमाएको उसले २३ रन मात्र जोड्न सक्यो।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले दुई/दुई विकेट लिए।
दुई विकेट लिँदा ११ रन खर्चिएका पाण्डेले ब्याटिङतर्फ १७ रन जोडेका थिए। खेलको प्लेयर अफ दि म्याच बनेका देब्रे हात ब्याटर पाण्डेले जनकपुरलाई कम स्कोरमा रोक्ने लक्ष्य लिएर बलिङ गरेको बताए।
‘जनकपुरलाई कम स्कोरमा रोक्ने हामीलाई विश्वास थियो। त्यसमा शंका नै थिएन। जनकपुरले ब्याटिङ गर्दा बल घुमिरहेको देखिएको थियो,’ पाण्डेले भने, ‘बिहान ब्याटिङ गरेर ११० रन क्रस गर्ने बित्तिकै हामी उनीहरूभन्दा ६०-७० प्रतिशत माथि थियौं। बलिङ राम्रो गर्ने हाम्रो रणनीति थियो।’
उनले विपक्षीको विकेट लिने लक्ष्यअनुसार नै स्पिनरलाई सुरूदेखि नै बलिङ गराएको बताए।
‘त्रिवि मैदानमा विदेशी ब्याटरविरूद्ध स्पिन बलिङ गर्न सजिलो हुन्छ। जति ठूलो नाम भए पनि खेल्नलाई गाह्रो हुन्छ,’ धेरै स्पिनर प्रयोग गर्नुको कारणबारे उनले भने, ‘त्रिवि विकेटमा जति धेरै देब्रे हाते स्पिनरलाई त्यति सजिलो हुन्छ।’
अघिल्लो खेलमा चितवनसँग पराजित भएको सुदूरले आजको खेल जित्नकै लागि खेलेको उनले बताए।
‘अघिल्लो खेलको हाम्रो शंका क्लियर गर्न जनकपुरलाई हराउन जरूरी थियो,’ उनले भने।
देब्रे हाते ब्याटर पाण्डे वेस्ट इन्डिजका पूर्व क्रिकेटर ब्रायन लारा आउने सामाचारले उत्साहित छन्। नेपाल क्रिकेट संघले एनपिएलका लागि लारा आउने सार्वजनिक गरे पनि उनी आउने मिति खुलाएको छैन।
‘म देब्रे हाते ब्याटर भएको बेलामा टेलिभिजन खोल्नेबित्तिकै ब्रायन लारा र सौभर गांगुली आउँथे अगाडि,’ पाण्डेले भने, ‘लारा नेपाल आउने भएपछि उनीसँग एकपटक भेटेर तीनदेखि पाँच मिनेट कुरा गर्न पाए क्रिकेट खेलेको सफल हुन्छ जस्तो लाग्छ।’