सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो।
जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकाल्यो। बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसअघि उसले लगातार चार खेलमा जित निकालेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो।
अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा पुग्दा शीर्ष चारमा रहने पनि पक्का भयो।
यता आजको खेलमा पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना भने कठिन भएको छ। काठमाडौंले पाँच खेलमा तीन खेलमा हार ब्यहोरिसकेको छ। अब उसलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नु पर्ने अवस्था छ।
बिहीकार काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले ५ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा गर्यो।
जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे।
जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख २ रन र कप्तान अनिलकुमार साह ११ रनमै आउट भए। अर्का ओपनर लाहिरू मिलन्थाले पनि १६ रन मात्र जोड्न सके। आसिफ र लाहिरूको विकेट काठमाडौंका कप्तान करण केसीले लिए। अनिललाई काठमाडौंका दिपेश कडेँंलले एलबिडब्लूको धरापमा पारे।
शुभ कंसाकार ५ रनमा आउट हुँदा जिमी निशमले १७ रनमा २७ रन जोडे। निशमले १ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए।
त्रिवि मैदानको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं तीन बल खेल्न बाँकी छदा १०१ अलआउट भएको थियो।
काठमाडौंको ब्याटिङ कुनै पनि बेला पनि सम्हालिन सकेन। ओपनरद्वय माइकल लेभिट ८ रन र स्टेफन इस्किनाजी १७ रनमा आउट भए।
लेभिट तेस्रो ओभरमा जनकपुरका किशोर महतोको बलमा मोहमद मोहसिनबाट क्याच भए। इस्किनाजी सातौं ओभरमा ललितनारायण राजवंशीको एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरमा भीम सार्कीलाई चार रनमा मोहमद मोहसिनले आउट गरे।
मोहसिनबाट आउट भएका गेरार्ल्ड इरासमसले २० रन जोड्न सके। त्यसपछि सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६ रनमा आउट भए। अन्तिम ओभरको पहिलो बलमा शेर मल्लले काठमाडौंका कप्तान करण केसीलाई १९ रनमा आउट गरे। दुई बलपछि दिपेश कडेँल पनि क्याच भए।
बलिङमा जनकपुरका ललितले ३ विकेट लिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन्। यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे। किशोर महतोले १ विकेट लिए। उनले पनि जारी प्रतियोगिता आफ्नो विकेट संख्या १० पुर्याइसकेका छन्।