सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा कर्णाली याक्सका ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालले डेब्यू खेलमै अर्धशतक प्रहार गरेका छन्।
भारतका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन्। आजको खेलमा उनले हङकङका बाबर हायतको ठाँउमा टोलीमा स्थान बनाएका थिए।
एनपिएलअन्तर्गत इलिमिनेटको खेलमा चितवन राइनोजविरूद्ध कोल्सावालाले अर्धशतक प्रहार गरेका हुन्। उनले ५३ रन जोडे। त्यसका लागि ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे।
कोल्सावाला तीन वर्षपछि नेपालको फ्रेञ्चाइज लिग खेल्न फर्किएका हुन्। उनले पछिल्लो पटक सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग खेलेका थिए। ललितपुर प्याट्रिओट्सका लागि खेलेका उनले ४२ रन जोडेका थिए। त्यसपछि उनले ठूला प्रतियोगिता खेलेका थिएनन्।
भारतको गुजरातका उनी बरोडा क्रिकेटको सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन्। उनीले एभरेस्ट प्रिमियर लिग मात्र होइन नेपालको धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग समेत खेलेका छन्।
उनी धनगढी प्रिमियर लिगको सन् २०१९ को सिजनमा सिवाइसी अत्तरियामा आबद्ध थिए। यस्तै उनले पोखराको प्रिमियर लिग काठमाडौंबाट खेल्दै ५ खेलमा १३८ रन जोडेका थिए।
टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले १३औं चल्दा तीन विकेट गुमाइसकेको छ।
ओपनिङमा आएका रित गौतम शून्यमा दोस्रो ओभरमा चितवनका सोहेल तन्विरको बलमा विकेटकिपर विपिन रावलबाट सामातिए।
यस्तै पाँचौं ओभरको अन्तिम बलमा शरद भेषवाकरले जीशन मक्सुदलाई १४ रनमा आउट गरे। आउट हुनुअघि उनले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आजै शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलमा विजेता फाइनदा पुग्दा पराजित हुने टोली दोस्रो क्वालिफायर खेल्नेछ।