सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स फाइनल नजिक पुगेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ। अब बिहीबार कर्णालीले जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
दोस्रो क्वालिफायरमा पुगेपछि कर्णालीका कप्तान सोमपाल कामीले उपाधिमा नजर भएको बताए।
‘फाइनलको सम्भावना मैले सुरूदेखि नै देखिरहेको थिएँ (हाँस्दै)। तर डर पनि थियो हामी डिजर्ब गर्दनौं की भनेर,’ उनले भने, ‘तर बलरहरूले यहाँसम्म ल्याए। हामीसँग दुई वटा अवसर छ। हिरो र म्याच विनर बन्ने।’
बुधबार विहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १७५ रन जोडेको थियो। सोमपालले आजको विकेट राम्रो देखिएको हुँदा टस जितेको भए पनि ब्याटिङ रोज्ने योजना रहेको सुनाए।
लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पारेर शीर्ष चारमा पर्न सफल भएको थियो।
‘हामीले सुदूरपश्चिमविरूद्धको पछिल्लो खेल हिजो सक्किसकेको थियो। आजदेखि हाम्रो लागि नयाँ प्रतियोगिता हो। त्यसरी नै हामीले खेलेका थियौं। आज विहान आउदा विकेट एकदमै राम्रो लागिरहेको थियो। हिजो ब्रेक थियो। विकेट राम्रोसँग तयारी गरेको जस्तो लाग्यो। टस जितेको भए पहिले ब्याटिङ गर्ने लक्ष्य थियो,’ सोमपालले भने ‘यहाँ १६० रन पनि चेजेवल छैन। १७५ रन हुँदा खुसी त लागिहान्छ। त्यसपछि स्पिनर र नयाँ बलले राम्रो गर्ने आत्मविश्वास थियो।’
कर्णालीका लागि पहिलो खेल खेलेका भारतका जयकिशन कोल्सावाला र अस्ट्रेलियाका विलियन बासिस्टोले अर्धशतक प्रहार गरेका थिए भने चाडविक वाल्टनले नटआउट ४६ रन जोडेका थिए।
लिग चरणपछि कोल्सावाला ल्याउनुको कारणबारे सोमपाल भने, ‘हामीले राम्रो सुरुवात गर्न खोजिरहेका थियौं। त्यो पाइरहेको थिएनौं। अरु खेलाडी ल्याउन हामीसँग समय पनि थिएन। उहाँसँग टचमा भएकाले ल्याएका हौं। उहाँलाई हामीले दिएको भूमिका राम्रोसँग निर्वाह गर्नु भयो।’
ब्याटिङमा विदेशी खेलाडीले राम्रो खेले पनि नेपाली ब्याटर भने चल्न सकेनन्। नेपाली ब्याटर चल्न नसकेको विषयमा सोमपालले विदेशी खेलाडीभन्दा पनि एक टिम भएर खेलेको प्रतिक्रिया दिए।
उनले भने, ‘हामीले विदेशी खेलाडीभन्दा पनि सबै खेलाडीलाई एउटै परिवारको रुपमा लिएका थियौं। को विदेशी को स्वदेशी भनेर त्यस्तो केही सोचेको छैन। जसले पनि रन हान्छ त्यो कर्णालीका लागि हान्ने हो। हाम्रो लागि एक-एक रन महत्वपूर्ण छ। चाहे त्यो देवले गएर अन्तिमको दुई रन हानोस वा वाल्टनले ५० रन हानोस। त्यसले फरक पर्दैन। फरक लक्ष्यले पर्छ। कुरा नै गर्ने हो भने नेपाली बलरले यो प्रतियोगिता धानेका छन्।’
भारतका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन्। आजको खेलमा उनले हङकङका बाबर हायतको ठाँउमा टोलीमा स्थान बनाएका थिए।
कोल्सावालाले ५३ रन जोड्ने क्रममा ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे।
बोसिस्टोले ५२ रन जोडे। बोसिस्टो अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान हुन्। सन् २०१२ को आइसिसी यू-१९ विश्वकपमा उनले अस्ट्रेलियन टोलीको कप्तानी गरेका छन्।
त्यतिबेला उनले समूह चरणमा नेपालविरूद्ध पनि खेलेका थिए। जारी लिगमा अलराउन्ड प्रदर्शन गरिरहेका बोसिस्टोले पोखरा एभेन्जर्सविरूद्धको एकै खेलमा ६ विकेट लिएका थिए।
कोल्सावाला तीन वर्षपछि नेपालको फ्रेञ्चाइज लिग खेल्न फर्किएका हुन्। उनले पछिल्लो पटक सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग खेलेका थिए। ललितपुर प्याट्रिओट्सका लागि खेलेका उनले ४२ रन जोडेका थिए। त्यसपछि उनले ठूला प्रतियोगिता खेलेका थिएनन्।
भारतको गुजरातका उनी बरोडा क्रिकेटको सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन्। उनीले एभरेस्ट प्रिमियर लिग मात्र होइन नेपालको धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग समेत खेलेका छन्।