सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ।
खेलका लागि दुवै टोलीले कुनै खेलाडी परिवर्तन गरेका छैनन्।
टिम जनकपुर : आसिफ शेख (कप्तान), शुभ कंसाकार, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, मयन यादव, आकाश त्रिपाठी, जिमी निशम, मोहमद मोहसिन, लाहिरू मिलन्था (विकेटकिपर) र हर्ष थाकर।
टिम सुदूरपश्चिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा,नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी (विकेटकिपर), नरेश बुढाऐर, स्कट कुगेलेइन, ब्रान्डन माक्मलेन, सइफ जइब र हर्मित सिंह।


एनपिएलको उपाधि विजेताले १ करोड १० लाख पुरस्कार पाउँदा उपविजेताले ५० लाखमा चित्त बुझाउनेछ।
जनकपुरको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार साह घाइते भएसँगै आशिफले पछिल्लो दुई खेलमा कप्तानी गरेका थिए।
एनपिएलमा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि लिग चरण र पहिलो क्वालिफायरमा दुई टोली एकआपसमा भिड्दै दुवै खेलमा सुदूरपश्चिम विजयी भएका थियो।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणका सात र पहिलो क्वालिफायर गरी कुल आठ खेल खेल्दा एक खेलमा मात्र हार ब्यहोरेको छ। लिग चरणमा चितवन राइनोजसँग हार्नुबाहेक सुदूरपश्चिम हरेक खेलमा विपक्षीमाथि हाबी भन्दै आएको छ।
एनपिएलमा आबद्ध आठ टोलीका खेलाडी तथा प्रशिक्षकले एनपिएलको उपाधि जित्न सक्ने टोली सुदूरपश्चिम र जनपकुर हुने यसअघि विश्लेषण गरेका थिए। जसमध्ये काठमाडौं गुर्खाजका कप्तान करण केसीले सुदूरपश्चिम टोली बलियो भएकाले उपाधि जित्ने आँकलन गरेका थिए। यता चितवनका प्रशिक्षक उमेश पटवालले जनकपुरले उपाधि जित्ने दाबी गरेका थिए। नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत रहेका भारतका पटवालले जनकपुर सन्तुलित टोली भएकाले उपाधि जित्ने बताएका थिए।
शनिबार हुने फाइनलअघि दुवै टोलीका कप्तानले आफ्नो शतप्रतिशत दिएर उत्कृष्ट खेल्ने बताएका छन्। दुवै टोलीका कप्तानले एकअर्काका टोलीलाई बलियो भएको बताएकाछन्। यस्तै फाइनललाई एक साधारण खेलको रुपमा लिने उनीहरुको भनाइ छ।