भारत र अस्ट्रेलियाबीच बिहीबार मेलवर्नमा सुरू भएको बक्सिङ डे टेस्टको पहिलो दिन अभद्र व्यवहार गरेको भन्दै विराट कोहलीलाई कारबाही गरिएको छ।
उनले अस्ट्रेलियाका साम कन्स्टासलाई खेलका दौरान धक्का दिएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कारबाही गरेको पुष्टि गरेको छ।
उनलाई आइसिसी आचार संहितअन्तर्गत लेभल-१ उल्लंघन गरेको भन्दै २० प्रतिशत म्याच फि जरिमाना र एक डिमेरिट अंक दिइएको छ। कोहलीले गल्ती स्विकार गरेको आइसिसीले जनाएको छ।
चौथो टेस्टको म्याच रेफ्री एन्डी पाइक्राफ्टको कारबाहीलाई कोहलीले स्वीकार गरेकाले औपचारिक सुनुवाइको आवश्यकता नपरेको आइसिसीको भनाइ छ। मैदानमा रहेका अम्पायर जोएल विल्सन र माइकल गफ, थर्ड अम्पायर शरफुद्दौला इब्ने शाहिद र रिजर्भ अम्पायर शान क्रेगले कोहलीले आचार संहिता उल्लंघन गरेको ठहर गर्दै रिपोर्ट दिएका थिए।
आइसिसीको आचार संहिताअनुसार क्रिकेटमा कुनै पनि किसिमको अनुपयुक्त ‘शारीरिक टकराव’ प्रतिबन्धित छ। खेलाडीले जानाजानी वा लापरवाहीका कारण कुनै खेलाडी वा अम्पायरसँग ठोक्किएमा त्यसलाई आचारसंहिता उल्लंघन मानिन्छ।
बिहीबार म्याच रेफ्रीले यसलाई लेभल-१ को उल्लंघन मानेका थिए। यदी यसलाई लेभल-२ को मानेको भए खेलाडीलाई तीनदेखि चार अंकको जरिवाना गर्न सकिन्थ्यो र एक खेल प्रतिबन्ध लाग्न सक्थ्यो। यसबाट भने कोहली बचेका छन्।
डिमेरिट अंक २४ महिनासम्म रहन्छ। कोहलीले २४ महिनाभित्र भित्रमा चार डिमेरिट अंक पाएमा भने एक खेल प्रतिबन्ध लाग्न सक्छ।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत बिहीबार सुरु भएको चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि युवा ब्याटर साम कन्स्टासले डेब्यू गरेका थिए।
१९ वर्षीय कन्स्टास खेलको सुरुदेखि नै भारतीय बलरमाथि हावी देखिएका थिए। उनले विशेषगरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशाना बनाएका थिए।
यद्यपी खेलको १०औं ओभर सकिए लगत्तै कन्स्टास र भारतीय ब्याटर कोहली भनाभनमा उत्रिएपछि सामाजिक सञ्जाल तातेको छ।
भारतका लागि मोहम्मद सिराजले १०औं ओभर बलिङ गरेका थिए। यो ओभरपछि कन्स्टास आफ्ना ओपनिङ पार्टनर उस्मान ख्वाजातर्फ अघि बढेका थिए। यसैबीच कोहली हातमा बल लिएर कन्स्टास आउँदै गरेको दिशामा अगाडि बढेका थिए।
यसपछि कोहलीको काँध कन्स्टाससँग ठोक्कियो। त्यसपछि कन्स्टास निकै रिसाए र कोहलीलाई केही कुरा भने।
जवाफमा कोहलीले पनि कन्स्टासलाई केही भने। त्यसपछि उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आएका थिए।
कोहली र कन्स्टासबीचको टक्करलाई लिएर सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन्।
कोहली कन्स्टाससँग अनजानमा ठोक्किए वा नियतवश गरे भन्ने बहस चलिरहेको छ।
केही पूर्वक्रिकेटरले कोहलीको यो व्यवहारको आलोचना गरेका छन्। अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले विराट कोहलीको गल्तीमा कुनै शंका नभएको बताएका छन्। भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीको यस्तो व्यवहारलाई अनावश्यक भनेका छन्।
साम कन्स्टास आफैं विराट कोहलीका फ्यान हुन् र उनी उनको मनपर्ने क्रिकेटर हुन्।
विराट कोहलीसँगको टक्करपछि कन्स्टास निकै क्रोधित देखिन्थे। अर्को ओभरमा उनले जसप्रित बुमराहलाई छक्का र दुई चौका प्रहार गरे। खेलको ११ औं ओभरमा कन्स्टासले १८ रन बनाएका थिए ।
आफ्नो डेब्यू टेस्टमै कन्स्टासले मात्र ५२ बलमा अर्धशतक पूरा गरेका थिए। उनी खेलको २० औं ओभरमा ६० रन बनाएर आउट भएका थिए। रविन्द्र जडेजाले उनको विकेट लिए। कन्स्टासले ६५ बलमा ६० रनको बनाउदा ६ चौका र २ छक्का प्रहार गरेका थिए।
पाँच टेस्टको सिरिजमा दुवै टोलीले एक–एक टेस्ट जितेका छन् भने एक टेस्ट बराबरीमा सकिएको छ।