बंगलादेश प्रिमियर लिग (बिपिएल) मा दरबार राजशाहीका बलर टस्किन अहमदले कीर्तिमानी बलिङ गरेका छन्।
मिरपुरमा बिहीबार ढाका क्यापिटल्सविरूद्ध भएको खेलमा उनले ४ ओभरमा १९ रन दिएर ७ विकेट लिए। उनले बिपिएलको इतिहासमा उत्कृष्ट बलिङको नयाँ कीर्तिमान बनाएका हुन्।
टस्किनले पाकिस्तानी तीव्र गतिका मोहम्मद आमिरको १७ रनमा ६ विकेटको कीर्तिमान तोडेका छन्। आमिरले जुन २०२० मा खुल्ना टाइगर्सका लागि सिलेट रोयल्सविरुद्ध उक्त कीर्तिमानी बलिङ गरेका थिए।
टस्किनको यो बलिङ टी-२० क्रिकेटमा तेस्रो उत्कृष्ट बलिङ हो। शीर्ष बलिङको कीर्तिमान मलेसियाका स्याजरुल इद्रसको नाममा छ, जसले २०२३ मा चीन विरुद्ध ८ रनमा ७ विकेट लिएका थिए। यस्तै इङ्ल्यान्डको भाइटालिटी ब्लास्टमा बर्मिङ्घम बियर्सविरुद्ध लेस्टरशायरका लागि कोलिन एकरम्यानले १८ रनमा ७ विकेट लिएका थिए।
टस्किनको उत्कृष्ट बलिङका बावजुत ढाका क्यापिटल्सले खेलमा ९ विकेटमा २७४ रन जोडेको थियो। जवाफ ब्याटिङ गरेको राजशाहीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ७ विकेटको जित निकाल्यो।
टस्किनले खेलमा लिट्टन दासलाई दोस्रो ओभरमा बाउन्सर बलमा स्लिपमा क्याच गराए। चौथो ओभरमा उनले ओपनर तान्जिद हसनलाई आउट गरेका थिए। १७औं ओभरमा ५० रन बनाएका शाहदत हुसेन र डि सिल्भालाई आउट गरेका टक्सिनले आफ्नो अन्तिम ओभरमा मात्र २ रन दिएर ३ विकेट लिए।