अस्ट्रेलियामा आइटी व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँवर र उनकी पत्नी सुदिक्षाले निर्माण गरिरहेका एक्स्ट्राटेक क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्ने काम पूरा भएको छ।
कुँवर दम्पतीले रूपन्देहीको तिलोत्तमा- १७ पूर्व दरखसवामा पाँच विगाह क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिरहेका छन्।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक कुँवरले मैदानमा पाँचवटै फ्लडलाइट जडान गर्ने काम सम्पन्न भएको जानकारी दिएका हुन्।
योसँगै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम फ्लडलाइट जडान गरिएको नेपालको पहिलो क्रिकेट मैदान बन्न पुगेको छ।
करिब सात करोड रुपैयाँ खर्चिएर फ्लडलाइट जडान गरिएपछि अब रातिको समयमा समेत क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने भएको छ।
यसअघि सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढाएको भए पनि फ्लडलाइट जडान हुन सकेको छैन। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम फ्लडलाइट जडान गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यासका लागि सहज हुने कुँवरले बताए।
फ्लडलाइट जडान गरी सोमबारदेखि नै लाइट टेस्टिङ (परीक्षण) को काम समेत सुरू गरिएको निर्देशक कुँवरले जनाए।
फ्लडलाइट नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने र लाइट पूर्णरूपमा जडान भएपछि डे नाइट म्याच खेलाउन सकिने उनले बताए।
क्रिकेटप्रेमी कुँवर दम्पतीले आफैले खरिद गरेको पाँच विगाह क्षेत्रफलमा २०८० साल जेठ २९ गते क्रिकेट स्टेडियमको शिलान्यास गरी निर्माणको काम अगाडि बढाएका थिए।
रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरी मैदान निर्माण गरिएको थियो। सोही अनुसार गत फागुन २८ गते मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो।
रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन्।
कुँवरका अनुसार निर्माणाधीन यो मैदानमा पछिल्लो ११ महिनाको अवधिमा एक सयभन्दा बढी खेल भइसकेका छन्।
नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले पनि यही मैदानमा अभ्यास गरेका थिए। त्यस्तै, भारतबाट पनि केही क्लब स्तरीय टिमले यही रंगशालामा खेल्दै आएका छन्।
नेपाल क्रिकेट संघ क्यानले आगामी फागुन २५ गतेदखि सुरू गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पनि एक्स्ट्राटेक ओभलमा समेत हुँदैछ। सोही अनुरूप अहिले क्रिकेट मैदानमा प्रतियोगिताको लागि तयारी भइरहेको छ।
प्रधानमन्त्री कपको अघिल्लो संस्करण भैरहवास्थित सिद्धार्थ रंगशालासहित मूलपानी र कीर्तिपुर मैदानमा भएका थिए।
यसपटक भने सबै खेलहरू एक्स्ट्राटेक ओभल र लुम्बिनी प्रदेशकै दाङको देउखुरी अन्तर्राष्ट्रिय मैदान र रूपन्देहीकै सिद्धार्थ रंगशालामा सञ्चालन हुनेछन्।
निर्देशक कुँवरका अनुसार रंगशालामा नेट प्राक्टिसका लागि समेत छुट्टै पिच तयार भइरहेको छ। जुन अन्तिम चरणमा पुगेको छ। यस्तै, रंगशाला र क्रिकेट एकेडेमीका लागि आवश्यक भौतिक संरचना निर्माणको काम पनि तीव्र रूपमा भइरहेको उनले बताए।
‘अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रूम र मिडिया बक्स सहितका चार/चार तलाका २ वटा भवन बनिरहेका छन्। ती भवनको तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भएको खण्डमा भिआइपी बक्सबाट बसेरै खेल हेर्न सकिने अवस्थामा संरचना निर्माण भइसकेको छ,’ कुँवरले भने।
रंगशाला निर्माण सुरू गर्दा भौतिक संरचनामा मात्र ४५ करोड बढी लगानी हुने अनुमान गरिएकोमा ५० करोड लागत पुग्ने भएको छ।
सुरूआतमा अनुमान गरिएको लागत रकममा हालसम्म आधा बढी रकम खर्च भइसकेको र बाँकी रहेको रकम केही अपुग हुने देखिएको उनले बताए।
‘रंगशाला सुरू गर्दा जति लागत अनुमान गरेका थियौं काम गर्दै जाँदा त्यो रकम अपुग हुने देखिएको छ। अपुग भएको रकम पनि थप गरेर सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुनेछ,’ उनले भने।
कुँवरका अनुसार यसै वर्ष ५ हजार क्षमताको प्यारापिट निर्माणको काम पनि अगाडि बढाउने तयारी गरिएको छ।
कुल २५ हजार क्षमताको प्यारापिट बन्ने रंगशालामा अर्को वर्षसम्म १० हजार क्षमताको बन्नेछ।
हरेक वर्ष ५ हजार क्षमताको प्यारापिट थप गर्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण गरिने कुवँरले बताए।
चार तलाको २ वटा भवन भिआइपी बक्स प्लेयर बक्स, चेञ्जिङ रूम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए।
५ वर्षमा पूरा गर्ने लक्ष्य रहेकोमा अब २ वर्षभित्र सबै काम सम्पन्न हुने कुँवरले बताए।
उनले आफ्नो उद्देश्य रंगशाला बनाउने मात्र नभई एकेडेमी सञ्चालन गरेर डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रियस्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए।
‘यहाँ नियमित खेल सञ्चालन हुनुको साथै एकैपटक एक सय ५० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ, कुँवरले युएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहेको बताए।