भारत र घरेलु टोली इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिजको अन्तिम निर्णय अब लन्डनको ओभल मैदानमा हुने भएको छ।
आइतबार चौथो टेस्ट बराबरीमा सकिएपछि अझै इंग्ल्यान्ड सिरिजमा २-१ ले अगाडि छ।
चौथो टेस्टमा भारतको उत्कृष्ट ब्याटिङका कारण इंग्ल्यान्ड अन्तिम खेलअघि नै सिरिज जितबाट वञ्चित भयो।
भारतले अन्त्यका सेसनमा केवल दुई विकेट गुमाएर खेल बराबरीमा टुंग्यायो। काँधको चोट र मांशपेशीको दुखाइका बाबजुद कप्तान बेन स्टोक्सले पनि इंग्ल्यान्डलाई जिताउन सकेनन् र आफ्नो कप्तानीमा दोस्रो पटक बराबरीमा चित्त बुझाउन बाध्य भए।
जब चौथो दिनको खाजा समयमा भारतको अवस्था निकै नाजुक थियो। १५० ओभरभन्दा बढी फिल्डिङ गरेर थकित भारतीय टोलीले मात्र १ रनमा २ विकेट गुमाइसकेको थियो र ३०० भन्दा बढी रनले पछि थियो। तर कप्तान शुभमन गिल र केएल राहुलबीच १८८ रनको तथा वासिङ्टन सुन्दर र रवीन्द्र जडेजाबीच अविजित २०३ रनको विशाल साझेदारीले भारतलाई हारबाट जोगायो।
अब भारतले पहिलो पटक आयोजना भएको 'एन्डरसन-तेन्दुलकर ट्रफी' जित्न नसक्ने पक्का छ। तर सिरिज बराबरी गर्ने मौका भने बाँकी छ।
भारतीय ब्याट्सम्यानहरूले चौथो टेस्ट म्याच मात्र बचाएनन्, इंग्ल्यान्डका बलरहरूलाई थकाए। इंग्ल्यान्डले म्यान्चेस्टरमा कुल २५७.१ ओभर बलिङ गर्नुपर्यो।
अब बिहीबार सुरु हुने पाँचौं तथा अन्तिम टेस्टअघि उनीहरूसँग आरामका लागि मात्र तीन दिनको छोटो समय छ। अन्तिम टेस्ट जिते भारतले सिरिज बराबरी गर्नेछ। इंग्ल्यान्ड बिजयी भएमा वा बराबरीमा सकिए पनि इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पार्नेछ।