इंग्ल्यान्ड र भारतबीच ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्ट खेल हेर्न आएका एक समर्थकलाई उनले लगाएको पाकिस्तानको जर्सी छोप्न भनिएपछि ल्यान्काशायर क्रिकेट क्लबले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार फारुक नजर नाम गरेका एक समर्थकले सो घटनाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भिडियोमा सुरुमा मैदानका एक सुरक्षाकर्मीले उनलाई पाकिस्तानको परम्परागत हरियो रंगको जर्सी छोप्न आग्रह गरेका देखिन्छन्।
आफूलाई ल्यान्काशायरका लागि काम गर्ने बताउने ती सुरक्षाकर्मीले भनेका छन्, ‘मलाई कन्ट्रोल (नियन्त्रण कक्ष) बाट यो सर्ट छोपिदिन आग्रह गर्न भनिएको छ।’
भिडियोमा बारम्बार जर्सी छोप्न आग्रह गरिएपछि नजर झन्-झन् आक्रोशित हुँदै गएको देखिन्छ। अन्ततः, एक प्रहरी अधिकारी उनीकहाँ पुग्छन् र दर्शकदीर्घाबाट अलि पर गएर कुरा गर्न आग्रह गर्छन्। रिपोर्टहरूका अनुसार नजरले आफ्नो जर्सी लुकाउनुको सट्टा मैदान छाडेर जान रोजे।
भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध वर्षौंदेखि चिसिएको छ र यो वर्ष मे महिनामा दुई देशबीच भएको झडपपछि झनै तनावपूर्ण बनेको छ। यो तनावको असर दुवै देशका क्रिकेट बोर्ड बीसिसिआई र पीसीबीको सम्बन्धमा पनि देखिएको छ।
यी दुई देशले सन् २०१२-१३ पछि कुनै द्विपक्षीय शृङ्खला खेलेका छैनन् भने सन् २००७-०८ पछि टेस्ट क्रिकेट पनि खेलेका छैनन्।
एकअर्काको देशमा आयोजना हुने आइसिसी प्रतियोगिताहरूमा उनीहरूको सहभागिता पनि समस्याग्रस्त बनेको छ, जसकारण समस्याको समाधानका लागि खेलहरू तटस्थ स्थलमा आयोजना गर्ने 'हाइब्रिड' मोडल अपनाइएको छ।
यो घटना टेस्टको कुन दिन भएको हो भन्ने स्पष्ट छैन, तर ल्यान्काशायरले यसबारे अनुसन्धान गरिरहेको पुष्टि गरेको छ।
ल्यान्काशायरले भारतसँग आफ्नो सम्बन्ध बलियो बनाउनेबारे खुलेर कुरा गर्दै आएको छ। यस मैदानमा 'द हन्ड्रेड' प्रतियोगिताको टिम म्यानचेस्टर ओरिजिनल्सको ७०% स्वामित्व आइपिएल टोली लखनउ सुपर जायन्ट्सका सञ्जीव गोयन्काको आरपीएसजी समूहले लिने तयारीमा छ। साथै, ल्यान्काशायरका प्रमुख कार्यकारी ड्यानियल गिड्नीले बीसिसिआईलाई यो प्रतियोगितामा हिस्सेदारी दिनसमेत सुझाव दिएका छन्।