पाकिस्तानले युएईमा हुने एसिया कप र त्रिकोणात्मक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
टोलीमा प्रमुख ब्याट्सम्यान तथा पूर्वकप्तान बाबर आजम र मोहम्मद रिजवान छैनन्।
वेस्ट इन्डिज भ्रमणमा ह्यामस्ट्रिङको चोटका कारण बाहिर रहेका फखर जमान भने पूर्ण रूपमा फिट भएर टोलीमा फर्किएका छन्।
१७ सदस्यीय टोलीको नेतृत्व सलमान आघाले गर्नेछन्। यो टोलीले एसिया कपको तयारी स्वरूप यूएई र अफगानिस्तानविरुद्ध हुने त्रिकोणात्मक सिरिजमा पनि सहभागिता जनाउनेछ।
बाबरले अन्तिम पटक डिसेम्बर २०२४ मा टी-२० खेलेका थिए। २०२५ को पाकिस्तान सुपर लिगमा उनले पेशावर जाल्मीबाट १० इनिङ्समा २८८ रन बनाएका थिए। यसमा ५६*, ५३* र ९४ रनको पारी सामेल भए पनि उनको समग्र स्ट्राइक रेट १२८.५७ मात्र थियो। हालै वेस्ट इन्डिजविरुद्धको एकदिवसीय श्रृंखलामा उनले क्रमशः ४७, ० र ९ रन बनाएका थिए।
बाबर जस्तै, रिजवान पनि बंगलादेशविरुद्धको घरेलु तथा अवे सिरिज र त्यसपछिको वेस्ट इन्डिज भ्रमणका लागि टी-२० टोलीमा थिएनन्।
यूएई त्रिकोणात्मक सिरिज र एसिया कपका लागि पाकिस्तानी टोली
सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रउफ, हसन अली, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, मोहम्मद हरिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसिम, साहिबजादा फरहान, साइम अयुब, सलमान मिर्जा, शाहीन शाह अफ्रिदी, सुफियान मोकिम।