अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आफ्नो पाँचौं खेलमा मेलवर्न रेनेगेड्स एकेडेमीविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
डार्बिनमा नेपालले पहिले ब्याटिङ रोजेको हो। यो खेलका लागि नेपालले पाँच परिवर्तन गरेको छ।
होबार्ट हुरिकेन्सविरूद्ध खेलेका आसिफ शेखसहित कप्तान रोहितकुमार पौडेल, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने आजको टोलीमा छैनन्।
आज टोलीमा फर्किएका दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ भने लोकेश बम विकेटकिपरको रुपमा छन्। यस्तै गुल्सन झासहित गतिका बलरद्वय रुपेश सिंह र सोमपाल कामी आज टोलीमा छन्। सन्दीपको स्थानमा शाहब आलामले खेल्दैछन्।
हिजो खेलेका कुशल भुर्तेल, लोकेश बम, भीम सार्की, आरिफ शेख, कुशल मल्ल र नन्दन यावद गरी ६ खेलाडी भने निरन्तर छन्।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल,लोकेश बम (विकेटकिपर), भीम सार्की, दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, शाहब आलम।
यसअघि नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोग्दा एक खेलम जित निकालेको छ।
नेपालले मंगलबार होबार्ट हुरिकेन्सलाई ६६ रनले हराएको थियो। सुरुवाती तीन खेलमा भने नेपाल पराजित भएको थियो। नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।
अब नेपालले अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम