विगत तीन सिजनदेखि हुँदै आएको अमेरिकाको चर्चित क्रिकेट लिग मेजर लिग क्रिकेट (एमएलसी) विवादित भएको छ।
अमेरिकाको क्रिकेट प्रशासनीक निकाय युएसए क्रिकेट र लिगको सञ्चालक कम्पनी अमेरिकन क्रिकेट इन्टरप्राइजेजबीच विवाद भएको हो।
सन् २०२३ देखि सुरू भएको यो लिगमा ६ टोलीको सहभागिता छ। लिग जासन होल्डर, निकोलास पूरन, शिकन्दर राजा, फाप डु प्लेसिस, ग्लेन म्याक्सवेल जस्ता विश्वका हस्ती क्रिकेटर सहभागी हुँदै आएका छन्।
यस्तै भारतको आइपिएल टोलीहरू चेन्नइ सुपर किंग्स, कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सका लगानीकर्ताको समेत अमेरिकी लिगमा लगानी छ। जसमा टेक्सस सुपरकिंग्स, लस एन्जलस नाइट राइडर्स र एमआई न्ययोर्कको नामका टोलीले अमेरिकी लिगमा प्रतिस्पर्धा गर्छन्।
खेलाडीहरूले १० हजार डलरदेखि ७५ हजार अमेरिकी डलरसम्म एक सिजनको पारिश्रमिक पाउने गर्छन्।
यसरी एसोसिएट देशमध्येमा उत्कृष्ट अमेरिकाको लिग चर्चित त छदै थियो, एसोसिएट खेलाडीका लागि आकर्षक प्रतियोगिता थियो।
तर यो प्रतियोगिता नै विवादित बन्न पुगेपछि लिगको भविष्यबारे चिन्ता थपिएको छ।
युएसए क्रिकेटले लिगको सञ्चालक कम्पनी अमेरिकन क्रिकेट इन्टरप्राइजेजसँगको आफ्नो व्यापारिक सम्झौता रद्द गरेपछि विवाद झनै बढेको छ।
क्रिकेट बोर्डले सम्झौता रद्द गरेपछि क्रिकेट इन्टरप्राइजेजले प्रतिक्रिया जनाउँदै गैरकानूनी र गलत कदम भनेको छ। साथै इन्टरप्राइजेजले सम्झौताका सबै सर्तहरू पूरा गरेको दाबी गरेको छ।
तर युएसए क्रिकेटले क्रिकेट इन्टरप्राइजेजले सन् २०१९ मा भएको सम्झौताका महत्त्वपूर्ण सर्तहरू बारम्बार उल्लङन गरेको भन्दै सम्झौता गरेको दाबी गरेको छ।
आयोजक कम्पनीले आर्थिक प्रतिबद्धता पूरा नगरेको, क्रिकेटको पूर्वाधार विकासमा ध्यान नदिएको तथा संगठनात्मक र व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको लगायतका आरोप क्रिकेट बोर्डको छ।
युएसए क्रिकेटले खेलको हितमा नयाँ सर्तहरू सहित छलफलका लागि तयार रहेको पनि बताएको छ।
तर क्रिकेट इन्टरप्राइजेजको आरोप अस्वीकर गरेको छ। साथै क्रिकेट इन्टरप्राइजेजले सम्झौता अनुसारको सबै आर्थिक दायित्व पूरा दबी गरेको छ। साथै युएसए क्रिकेटलाई आर्थिक संकट पर्दा कर्मचारीको तलब तिर्न अग्रिम भुक्तानी समेत दिएको कम्पनीको दाबी छ। सम्झौता रद्द गरेर नयाँ सम्झौताका लागि वार्तामा बस्न खोज्ने क्रिकेट युएसएको भनाईलाई कम्पनीले स्वार्थी र राजनीतिक उद्देश्यबाट प्रेरित रहेको भन्दै कडा प्रक्रिया दिएको छ।
साथै क्रिकेट इन्टरप्राइजेजले युएसए क्रिकेटको सम्पूर्ण बोर्डले तत्काल राजीनामा दिन माग गरेको छ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पनि युएसए बोर्डलाई राजीनामा दिन सुझाव दिएको थियो।
आइसिसी र अमेरिकी ओलम्पिक कमिटीले लस एन्जलसमा हुने २०२८ को ओलम्पिकलाई ध्यानमा राख्दै युएसए क्रिकेटको नेतृत्व र संरचनामा परिवर्तन गर्न खोजेका छन्। आइसिसीले गत महिना मात्र युएसए क्रिकेटको बोर्डलाई राजीनामा दिन सुझाव दिएको थियो।