युएईमा जारी एसिसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको छ।
मंगलबार भएको खेलमा साउदीले दिएको २२० रनको लक्ष्य नेपालले ३०.४ ओभरमा पूरा गर्यो।
नेपालको जितमा निराजकुमार यादवले शतक प्रहार गरे। उनले ९० बलमा १३ चौका र १ छक्काको मद्दतमा ११४ रन जोड्दा नेपालको जित सम्भव भयो।
नेपालका लागि निश्चल क्षेत्रीले नटआउट ६६ रन बनाए भने वंश क्षेत्रीले ३० रनको योगदान गरे।
त्यसअघि पहिले ब्याटिङ गरेको साउदीले ९ विकेटको क्षतिमा २१९ रन बनायो। उसका लागि जुबेर सुनसराले ४८ रन बनाए।
बलिङमा नेपालका अशोक धामीले २ विकेट लिए। दयानन्द मण्ड3ल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्शन सोनारले १-१ विकेट लिए।
नेपालले अब समूह ‘ए’ मा बिहीबार हङकङसँग खेल्नेछ।
१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। तेस्रो स्थानसम्म पुग्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ।