आगामी पुस ४ गतेदेखि एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता काठमाडौंबाट सुरू हुने भएको छ। इपिएलले मंगलबार पत्रकार सम्मेलनमार्फत १२ दिनसम्म चल्ने प्रतियोगिताको मिति घोषणा गरेको हो।
लिगमा ६ टिमले १९ खेल खेल्नेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
यस्तै आजै भएको सम्झौतामा टिभिएस मोटर्सले इपिएलको टाइटल स्पोन्सर गर्ने भएको छ। यद्यपी सम्झौता रकम भने खुलाइएको छैन।
सम्बन्धित समाचार :- यी चार खेलाडी बने महँगा, कसलाई किन्न कुन टिमले कति खर्च गरे?
यसअघि सोमबार प्रतियोगिताका लागि खेलाडी अक्सन (बोलकबोल) गरिएको थियो। अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका थिए। अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन्।