नेपाल आर्मीले मोफसलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
धनगढी रंगशालामा भएको विभागिय डर्बीमा सशस्त्र प्रहरीको एपिएफलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै उपाधि जितेको हो।
आर्मीको जितमा विवेक बस्नेत, दीपक गुरूङ, दीप लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठले गोल गरे।
एपिएफका लागि सुदीपको प्रहार बाहिरिएको थियो।
रञ्जन विष्ट, पासाङ लामा, युवराज खड्काले गोल गरेपनि एपिएफलाई उपाधि दिलाउन सकेनन्।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
यसअघि डिफेन्डिङ च्याम्पियन मनाङलाई ३-१ गोल अन्तरले हराउँदै आर्मी फाइनलमा आएको थियो उता आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो ।
यो जितसँगै आर्मीले यो सिजनको सबैभन्दा सफल टोली भएको साबित गरेको छ। एपिएफ यो वर्ष पहिलो पटक फाइनल खेलेको हो। आर्मीले गत महिना झापामा भएको सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो। दुहवी गोल्ड कपमा भने मनाङसँग पराजित भएको थियो।
विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीको सूचीमा पनि फाइनलका दुई टोलीका खेलाडी नै छन् ।
उपाधि विजेता आर्मीका कप्तान भरत खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिए । त्यस्तै उपविजेता एपिएका अन्जन बिष्ट उत्कृष्ट फरवार्ड छानिए । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।
त्यस्तै उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट रहे भने आर्मीका विकेश कुथु उत्कृष्ट किपर तथा आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर भए । आयोजक सुदुरपश्चिम ११ का अमानत सिहं उदयमान खेलाडि रहे ।
- अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
- टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
- विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
- सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
- अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
- नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच