नेपाली घरेलु महिला फुटबलको पावरहाउस तथा महिला लिग च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी वुमेन्स च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा कठिन प्रतिद्वन्द्वीको सामना गर्दैछ।
उज्वेकिस्तानमा आयोजना हुने समूह 'बी' को खेलमा एपिएफले साउदी अरेबियाको चर्चित क्लब अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको प्रारम्भिक चरण अर्को साता देखि सुरु हुँदैछ। घरेलु लिगमा अपराजित रहँदै लगातार चार पटकसहित कुल ६ पटकको च्याम्पियन बनेको एपिएफको नेपालमा उत्कृष्ट रेकर्ड छ।
यस्तै एपिएफले लिगका लागि भनेर आर्मीका डिफेन्डर विमला विकसहितका खेलाडीलाई लिएर अभ्यास गरिरहेको छ। एपिएफका अधिकांस खेलाडी राष्ट्रिय टोलीमा परिसकेका खेलाडी छन्।
एपिएफले आफ्नो पहिलो खेल घरेलु टोली पीएफसी नासाफसँग खेल्नेछ। गत सिजन पनि यी दुई टोली एउटै समूहमा परेका थिए। नासाफ पनि उज्वेकिस्तानको बलियो टोली हो, जसले २०२४ मा घरेलु लिग र कपको दोहोरो उपाधि जितेको थियो।
समूहको अर्को बलियो टोली साउदी अरेबियाको अल नासर हो, जसले सन् २०२२ मा घरेलु लिग सुरु भएदेखिका सबै तीन संस्करणको उपाधि जितेको छ। त्यस्तै, थाइल्याण्डको कलेज अफ एसियन स्कलर्स गत सिजनको समूह चरणमा पुगेको अनुभवी टोली हो र आफ्नो देशको सात पटकको लिग च्याम्पियन हो।
एएफसी महिला च्याम्पियन्स लिगको यो दोस्रो संस्करण हो। प्रारम्भिक चरणमा अहिलेसम्मकै सर्वाधिक १९ टोलीले ५ समूहमा प्रतिस्पर्धा गर्दैछन्। हरेक समूहका विजेता र सबै समूहमध्येबाट उत्कृष्ट उपविजेता गरी कुल ६ टोली अर्को चरणमा प्रवेश गर्नेछन्।
यी ६ टोलीले एसियाका शीर्ष वरीयताका ६ क्लबहरू— मेलबर्न सिटी एफसी (अष्ट्रेलिया), सुवन एफसी वुमेन्स (दक्षिण कोरिया), टोकियो भर्डी बेलेजा (जापान), वुहान जियाङ्दा वुमेन्स एफसी (चीन), हो चि मिन सिटी वुमेन्स एफसी (भियतनाम) र बाम खातुन एफसी (इरान सँगै नोभेम्बरमा सुरु हुने १२ टोलीको समूह चरणमा खेल्नेछन्।
यस पटकको प्रतियोगितामा कम्बोडिया, उत्तर कोरिया, गुआम, किर्गिज गणतन्त्र र मंगोलिया गरी पाँच देशका क्लबहरूले पहिलो पटक महादेशीय प्रतियोगितामा सहभागिता जनाउँदैछन्।