नेपालको पहिलो रोजाईको राष्ट्रिय गोलकिपर किरण चेम्जोङ भारतीय आइ लिग क्लब मिनेर्भा पञ्जावमा आवद्ध भएका छन्।
नेपालकै नम्बर वान गोलकिपर चेम्जोङले व्यवसायिक फुटबल करियरमा नयाँ फड्को मार्ने क्रममा मंगलबार आइ लिग क्लब मिनेर्भा पञ्जावमा आबद्ध भएका हुन्।
यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट खेल्ने गरेका किरण चन्डिगढ बेस्ड क्लब मिनेर्भाले मंगलबार आफ्नो अफिसियल ट्वीटर तथा फेसबुकमार्फत् किरण बाँकी सिजनका लागि आफ्नो क्लबमा आबद्ध भएको जनाएको हो।
जारी हिरो आइ लिगमा मिनेर्भा ९ खेलबाट २२ अंक जोड्दै अंक तालिकामाको शीर्ष स्थानमा छ।
नेपालको राष्ट्रिय टोलीका लागि ५० क्याप पूरा गरिसकेका किरणले माल्दिभ्सको क्लबबाट खेल्नुअघि घरेलु फुटबलका चर्चित क्लबहरु मछिन्द्र, थ्री स्टार र मनाङबाट खेलिसकेका छन्।
गत अगस्टमा अल इन्डिया फुंटबल एसोसिएसनले आइ लिग खेल्ने क्लबले दुई एसियनसहित ६ विदेशी खेलाडी खेल्न पाउने घोषणा गरेको थियो। त्यसै अनुसार किरण मिनेर्भामा आबद्ध हुने दोस्रो एसियन तथा छैठौं विदेशी खेलाडी समेत भएको क्लबले जनाएको छ।
किरणको टिमले अब ३० तारिखमा इस्ट बंगालसँग खेल्नेछ।