स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल मड्रिडले बेटिसमाथि प्रभावशाली जित दर्ता गरेको छ।
पछिल्लो समयमा लय समातेको रियल मड्रिडले रियल बेटिसमाथि ५–३ को प्रभावशाली जित दर्ता गर्यो।
रियलको जितमा मार्को एसेन्सिओले दुई गोल गरे। यस्तै सजिर्यो रामोस, क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमाले एक एक गोल गरेका थिए।
रियल बेटिसका लागि एइसा मोन्डी र सर्जियो लियोनले गोल गरे । यस्तै रियल मड्रिडका नाचोले आत्मघाती गोल उपहार दिएका थिए।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) माथि जित निकालेको रियल मड्रिडले त्यसपछि भएको पहिलो घरेलु लिगमा विजयी भएको हो।
खेलको ११ औँ मिनेटमा एसेन्सिओको गोलबाट रियलले अग्रता लिएको थियो। तर ३३ औँ मिनेटमा मोन्डीले रियल बेटिसका लागि बराबरी गोल गरे। त्यसको चार मिनेटपछि नाचोले आत्मघाती गोल गर्दै पहिलो हाफमा रियल मड्रिड २–१ ले पछि पर्यो।
दोस्रो हाफमा थप आक्रमक देखिएको रियल मड्रिडले थप चार गोल गर्यो। ५० औं मिनेटमा रामोस तथा ५९ औँ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–२ को अग्रता लियो ।
रोनाल्डोले ६५ औँ मिनेटमा गोल गर्दै अग्रता अझै बढाए। ८५ औँ मिनेटमा लियोनले रियल बेटिसका लागि थप एक गोल गर्दं खेलमा फर्कने संकेत गरे। इन्जुरी समयको दोस्रो मिनेटमा बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ५–३ ले विजयी भयो ।
जितपछि चौथो स्थानको रियल मड्रिडको २३ खेलबाट ४५ अंक भएको छ र रियल भन्दा एक खेल बढी खेलेको तेस्रो स्थानको भ्यालेन्सिया भन्दा एक, दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० र शीर्ष स्थानको बार्सिलोना भन्दा १७ अंकले पछि छ।