सुदूरपश्चिम ११ लाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो हेटौंडा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ।
हेटौडाको वनविज्ञानको खेल मैदानमा सोमबार सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।
नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मि दुई दिनपछिनै हेटौंडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो।
आर्मीको जितमा नवयुग श्रेष्ठ, भरत खवास, दिप लामा, विमल बस्नेत र गोलकिपर विकेश कुथुले गोल गरे। सुदूरपश्चिमका लागि विनोद केसी, योगेन्द्र चौधरी र चेतन थारूले मात्र गोल गर्न सके। राकेश हमालको प्रहार गोल हुन नसकेपछि सुदूरपश्चिम पहिलो खेलबाटै घर फर्किएको हो।
निर्धारित समयमा १-१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो।
यसअघि खेलमा आर्मीले लिएको अग्रतालाई जोगाउन नसक्दा टाइब्रेकर सम्म कुर्नु परेको थियो। नवयुग श्रेष्ठको खेलको ७० औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
सुदूरपश्चिमका विनोद केसीले खेल सकिन खेलको ८२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। योगेन्द्र चौधरीको पासमा विनोदले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बलले जाली चुमेको थियो।
आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता छ।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।
भोलिको खेल थ्री स्टारविरुद्ध सिएमजी क्लब संकटा भिड्ने आयोजकले जानकारी दिएको छ।