आयोजक रुपन्देही ११लाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपाल पुलिसले घरेलु टोलीको चुनौती सडन डेथमा ४-३ ले पन्छाएको हो।
आयोजक टोली यसपटक दुई खेल जित्दै अन्तिम चारमा पुगेको थियो भने पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफलाई हराएर आएको थियो।
यो सिजन दुई उपाधि जितेको पुलिसलाई रूपन्देहीले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोके पनि पेनाल्टी सुटआउटमा पुलिसका गोल रक्षक रोशन खड्का नायक भएपछि सेमिफाइनलमा रोकियो।
टाइब्रेकरमा पनि ३–३ को बराबरीपछि सडन डेथमा पुलिस भाग्यमानी बनेको थियो । पुलिसका गोलकिपर रोशनले विपक्षीका तीन वटा पेनाल्टी रोक्न पुलिसलाई अन्तिम दुईको यात्रा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । सडन डेथमा पुसिका रेजिन गोल गर्न सफल भए भने रुपन्देहीबाट खेलेका झापा ११ का कर्ण लिम्बु गोल गर्न असफल भए ।
टाइब्रेकरमा पुलिसका लागि सुमन लामा, निरकुमार राई र भोला सिलवाल गोल गर्न सफल भए । तेस्रोमा पेनाल्टी हानेका अजित भण्डारीको प्रहारलाई रुपन्देहीका गोलकिपर सोजित गुरुङले रोके भने चौथोमा दीनेश राजवंशीको प्रहार बाहिरियो । उता रुपन्देहीका मनीष घले, छिरिङ गुरुङ र निशान लिम्बुले गोल गरे ।
तेस्रोमा पेनाल्टी हान्ने विश्व अधिकारी, चौथोमा हान्ने निशान लिम्बु र कर्णको प्रहारलाई पुलिसका गोलकिपर रोशनले बचाएका थिए । खेलको ६७ औं मिनेटमा पूर्णबहादुर श्रेष्ठको पासमा कर्णले गोल गर्न नसक्नु रुपन्देहीका लागि महंगो साविक भयो । पुलिसका गोलकिपर रोशन खेलको म्यान अफ दी म्याच घोषित भए । रुपन्देही जिल्ला फुटबल संघको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ ।
माघको सुरुआतमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।
पुलिसले अब थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबमध्ये एक टोलीसँग फाइनल खेल्नेछ।
तिलोत्तमाको विजेताले उपाधिसहित ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ ।