विश्वकप फुटबलको तयारी स्वरूप भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल नेदरल्याण्डससँग पराजित भएको छ। जेनेभामा सोमबार राति भएको खेलमा पोर्चुगललाई नेदरल्याण्डसले ३–० गोल अन्तरले हराएको हो।
पहिलो हाफमै तीन गोल खाएको पोर्चुगल दोस्रो हाफमा १० खेलाडीमा सिमित तएको थियो।
नेदरल्याण्डका लागि मेम्फिस डिपेइ, रायन बाबेल र विर्गिल भान डिजेकले गोल गरेका थिए।
खेलको ११औं मिनेटमा मेम्फिस डिपेइले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
३२ औं मिनेटमा रायन बाबेलले गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा विर्गिल भान डिजेकले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३–० को स्थितिमा पुर्याए ।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको पोर्चुगलले थप गोल खाएन। खेलको ६१औं मिनेटमा कावाको क्यानसेलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो।
पछिल्ला खेलमा लगातार गोल गर्दै आएका पोर्चुगिच कप्तान रोनाल्डोले यो खेलमा गोल गर्न सकेनन्। उनले पछिल्ला ८ खेलमा हरेकमा गोल गरेका थिए।
खेलको ६८औं मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डोको स्थानमा जोएओ माउन्टिन्होले खेलेका थिए।
रूसमा हुने विश्वकपमा पोर्चुगल समूह ‘बी’ मा रहेको छ। पोर्चुगल रहेको समूहमा स्पेन, मोरक्को र इरान छन्। तर नेदरल्याण्डस भने विश्वकपमा छनोट हुन असफल भएको थियो।