स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ।
बुधबार राति भएको पहिलो लेगमा इटालियन क्लब रोमालाई ४–१ ले हराउँदै बार्सिलोनाले सहज जित निकालेको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जेरार्ड पिके र लुइस स्वारेजले समान एक एक गोल गरे। बार्सिलोनाले दुई गोल आत्मघाती उपहार पाएको थियो। रोमाका ड्यानियल डी रोसी र कोन्सटानेस मेनोलेसले आत्मघाती गोल गरेका थिए भने इडेन डेज्कोले एक गोल फर्काएका थिए।
नाउ क्याम्पमा खेलको ३८ औं मिनेटमा रोसीको आत्मघाती गोलबाट बार्सिलोनाले सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफसम्म १-०को अग्रता लिएको बार्सिलोनाले खेलको ५५ औं मिनेटमा रोमाका मेनोलोसले पुनः आत्मघाती गोल उपहार दिए पछि बार्सिलोनाको अग्रता २–० को बन्यो।
५९ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० को बनाए । खेलको ८० औं मिनेटमा रोमाका डेज्कोले एक गोल फर्काउदै खेल ३–१ मा ल्याए। तर, खेलको ८७ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४ – १ को सहज जित दिलाए।
यो जितले बार्सिलोनालाई यो सिजन उपाधिमा ह्याट्रिक गर्ने सम्भावना कायम राखेको छ । बार्सिलोना घरेलु लिग ला लिगामा शीर्ष स्थानमा छ । कोपा डेल रेको फाइनलमा पुगेको छ भने च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा पनि अब प्रायः निश्चितजस्तै भएको छ ।
पहिलो लेगमा फराकिलो अग्रता बनाएको बार्सिलोनाले दोस्रो लेगमा बराबरी वा झिनो अन्तरको हार बेहोरे पनि सेमिफाइनलमा पुग्नेछ। रोमालाई घरेलु मैदानमा हुने दोस्रो लिगमा फराकिलो जित आवश्यक छ । दोस्रो लेग अप्रिल ११ मा हुनेछ।