इंग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले ब्राइटनमाथि सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३-१ ले हराएको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन ड्यानिलो, बेर्नान्डो सिल्भा र फर्नानडीन्होले समान एक एक गोल गरेका थिए। ब्राइटनका जोसे लियोनार्दोले एक गोल फर्काए ।
इदिहाद स्टेडियममा खेलको १६ औं मिनेटमा ड्यानिलोको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा ब्राइटनका लियोनार्दोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
तर, खेलको ३४ औं मिनेटमा सिल्भाले गोल गर्दा पहिलो हाफमा सिटीले २-१ को अग्रता बनायो।
त्यसपछि खेलको ७२ औं मिनेटमा फर्नानडीन्होले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।
यो जितसँगै च्याम्पियन सिटीले अंक तालिकामा किर्तिमान कायम गरेको छ। सिटीले ३७ खेलबाट ९७ अंक जोडेको छ। र, यो प्रिमियर लिगमा च्याम्पियन क्लबले बनाएको कीर्तिमानी अंक हो। सिटीले यो सँगै चेल्सीको किर्तिमान भंग गरेको हो ।
यसअघि सन् २००४-५ को सिजन चेल्सीले कीर्तिमानी ९५ अंक जोडेर उपाधि जितेको थियो। तर, सिटीले एक खेल बाँकी रहदै कीर्तिमानी अंक जोडेको हो।
अब सिटीले साउथह्याम्पटनविरुद्धको अन्तिम खेलमा जित हात पारे १०० अंक जोड्ने छ।
यस्तै सिटीले एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान समेत बनाएको छ। सिटीले १०५ गोल गर्दै चेल्सीले सन् २००९-१० को सिजन १०३ गोल गर्दै बनाएको किर्तिमान तोडेको हो।