अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई स्पष्टिकरण सोधेका छन्।
आइतबार पत्र काट्दै तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न अध्यक्ष नेम्बाङले निर्देशन समेत दिएका छन्।
यसअघि अध्यक्ष नेम्बाङ विदेश गएको बेला आफू स्वत कार्यवहाक अध्यक्ष भएको भन्दै खड्काले महासचिव किरण राईलाई स्पष्टिकरण सोधेका थिए। साथै तीन दिनभित्र जावाफ नदिएको भन्दै खड्काले राईलाई निलम्बन समेत गरेका थिए।
यो प्रक्रियाका अनाधिकृत भएको भन्दै अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई आइतबार स्पष्टिकरण सोधेका हुन्। खड्कालाई पाँच वटा प्रश्न गर्दै स्पष्टिकरण सोधिएको छ।
‘वरिष्ठ उपाध्यक्ष तपाई श्री वीर बहादुर खड्काले विभिन्न समयदेखि निरन्तर एन्फाको पहिचानलाई कमजोर बनाउने, आन्तरिक विषयहरुमा गोपनियता कायम नगर्ने, संघको वरिष्ठ उपाध्यक्षको हैसियतमा पालना गर्नुपर्ने आचरण पालन नगर्ने र संघको विधान विपरीत अनधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सन्जाल, आमसञ्चार माध्यमहरुको प्रयोग गरी गलत अफवाह फैलाउने जस्ता कार्यहरु गर्दै आइरहनु भएको छ । गत वर्ष सम्पन्न सहिद स्मारक सी डिभिजन लिग प्रतियोगिता २०८० का विभिन्न खेलहरुमा मिलेमतो भएको भन्दै क्लबहरु प्रति तपाईंले लगाएको गम्भीर आरोपविरुद्ध सी डिभिजन क्लबहरुको उजुरी हाल पनि एन्फा अनुशासन समितिमा विचाराधीन छ,’ पत्रमा भनिएको छ।
साथै खड्कालाई उल्लेखित पाँच वटा प्रश्नको उत्तर खोज्दै स्पष्टिकरण दिन भनिएको छ
१) यसै गरी मिति २०८२ कात्तिक २ गते संघको अध्यक्ष र महासचिव एएफसीको कार्यक्रममा साउदी अरबमा रहेको बेला अनधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरी महासचिवलाई स्पष्टिकरण सोध्ने कार्य गरी संघको विधान अनुरुप तपाईंलाई अधिकार नै नभएको विषयमा निलम्बन गरेको प्रचार किन गर्नु भएको हो ?
२) संघको कार्यालय र अध्यक्षसँग कुनै सम्पर्क नै नगरी वरिष्ठ उपाध्यक्षलाई विधानले प्रदान गरेको अधिकार क्षेत्रभन्दा बाहिर गएर महासचिवलाई पत्राचार गरेको विषय आफैले प्रचार गर्नु भयो। उक्त पत्रमा चलानी भनी उल्लेख गरिएको च.नं. मा एन्फा कार्यालयमा अर्कै पत्र चलानी रहेको छ। साथै, तपाईले प्रयोग गरेको संघको लेटर हेड र छाप संघको कार्यालयबाट नभई अन्यत्र बाटै प्रयोग भएको देखिएको छ। संघ विधिको शासनमा विश्वास गर्दछ। तपाईलाई व्यक्तिगत रुपमा महासचिवलाई स्पष्टीकरण सोध्न र निलम्बन गर्न विधानको कुन धारा र व्यवस्थाले अधिकार दिन्छ ?
३) संघको विश्वनियता माथि नै प्रश्न खडा हुने गरी विभिन्न सञ्चार माध्यम र फिफा, एएफसीमा समेत भ्रम उत्पन्न हुने गरी यो काम किन गर्नु भएको हो ?
४) तपाईले प्रयोग गर्नु भएको एन्फाको छाप र लेटर हेड को व्यक्तिबाट प्राप्त गर्नु भएको हो ?
५) संघको लेटर हेड र छाप तपाईमार्फत के कति पटक तपाईं लगायत क-कसले दुरुपयोग गरी रहेको छ? यो विषयमा तपाईंविरुद्ध कानूनी उपचारमा जानुपर्ने की नपर्ने ?
संघको पहिचानमा गम्भीर खेलबाड हुँदा एन्फा विधानको परिच्छेद १ को धारा ९ (१) अनुसार फिफा, एएफसी, र एन्फाको विधान तथा निर्देशन र निर्णयको वेवास्ता गर्दै निरन्तर संघ विरोधी कार्यहरु गर्ने तपाईंका गतिविधि उपर अनुशासनको कारबाही किन नगर्ने ?