रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा तेस्रो हुँदै यो सिजनको अन्त्य गरेको छ।
दोस्रो हुन संघर्ष गरिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको अन्तिम खेलमा भिल्लारियलसँग बराबरीमा रोकिएको हो। यो बराबरीले रियल तेस्रो स्थानमै सीमित हुन बाध्य भयो।
सिजनको अन्तिममा आएर पनि रियल मड्रिडले लिगमा चाहिएको जति राम्रो प्रदर्शन गर्न सकेन।
सुरूमा दुई गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिड भिल्लारियलसँग २–२ को बराबरीमा रोकिन बाध्य भयो।
रियल मड्रिडका लागि ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए।
खेलको ११ औँ मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए। ३२ औँ मिनेटमा स्टार स्ट्राइकर रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
पहिलो हाफ २-० ले अगाडि रहेको रियलले पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन।
भिल्लारियलका लागि मार्टिनेज र कास्टिलेजो एजुएगाले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ७० औँ मिनेटमा मार्टिनेज तथा ८५ औँ मिनेटमा कास्टिलेजोले गोल गरे।
आगामी शनिबार किएभमा हुने लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलको तयारीमा रहेको रियल मड्रिडले यो सिजन घरेलु लिगमा राम्रो प्रदर्शन गर्न सकेन ।
बराबरीपछि तेस्रो स्थानमा लिग टुङ्ग्याएको रियल मड्रिडको लिगमा सबै ३८ खेलबाट ७६ अंक भएको छ।
यस्तै एक खेल खेल्न बाँकी रहेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहदै ७८ अंक जोडेको छ। यस्तै चौथो स्थानमा रहेको भ्यालेन्सियाको ७० तथा पाचौ स्थानमा रहेको भिल्लारियलको ६१ अंक छ।
यसअघिनै उपाधि जितिसकेको शीर्ष स्थानको बार्सिलोनाको ३७ खेलबाट ९० अंक भएको छ।