फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले पराजित गरेकाे छ।
अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो।
घरेलु टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने झैं खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध आक्रामक रणनीति अंगालेको थियो।
आफ्नो पहिलो छनोट खेलमा नेपाली टोलीविरुद्ध कुवेतले सात गोल गरेकाले पनि अस्ट्रेलिया अझ बढी गोल गर्न आतुर देखिन्थ्यो।
अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरे।
त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो।
पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।
नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन्।
अस्ट्रेलियाले दोस्रो गोल १९औं मिनेटमा गर्यो। दोस्रो गोल पनि जेमी म्याकलरेनले नै गरे। अजिज बेचिचको हेड पासमा म्याकलरेनले हेड गोल गरेका हुन्।
अस्ट्रेलियाका लागि तेस्रो गोल २४औं मिनेटमा ह्यारी सटरले गरे। उनले क्रेग गुडविनको कर्नर पासमा गोल गरेका थिए। नेपालले अस्ट्रेलियाजस्तो प्रभावशाली टोलीविरुद्घ पनि सुरुदेखि नै रक्षात्मक नभई आक्रामक नीति अपनाएको थियो। जसका कारण नेपालले प्रारम्भदेखि नै एकपछि अर्को गोल ब्यहोर्नु पर्यो।
पहिलो हाफमा अस्ट्रेलियाले ३—० को अग्रता लियो।
खेलको ५८औं मिनेटमा अस्ट्रेलियाले चौथो गोल थप्यो। अस्ट्रेलियन खेलाडी ह्यारी सटरले हेड गरेको बल बचाउन खोज्दा नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर गोल हुन पुग्यो।
६५औं मिनेटमा नेपाली प्रशिक्षकले अभिषेक रिजाललाई निकालेर विमल घर्तीमगरलाई मैदानमा प्रवेश गराएका थिए।
नेपाली प्रशिक्षकले ७९औं मिनेटमा अञ्जन बिष्टलाई निकालेर तेज तामाङलाई मैदानभित्र प्रवेश गराए।
नेपाली टोलीका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङले अस्ट्रेलियन खेलाडीले प्रहार गरेको करिब एक दर्जन उत्कृष्ट प्रहारलाई विफल पारेका थिए।
८५औं मिनेटमा नेपाली प्रशिक्षकले विशाल राईको स्थानमा सन्तोष तामाङलाई मैदानमा प्रवेश गराएका थिए। खेलको ९०औं मिनेटमा नेपालले पाँचौं गोल खायो । अस्ट्रेलियाका जामी म्याकलरेनले नेपाली टोलीका रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे।
करिब २५ हजार दर्शक क्षमताको जियो रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १८ हजार पाँच सय ६३ दर्शक उपस्थित भएका थिए।
दर्शक दिर्घामा नेपाली टोलीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो। खेल हेर्न करिब आठ हजारको सँख्यामा नेपाली समर्थक उपस्थित थिए।
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली टोलीले खेलेको यो तेस्रो छनोट खेल हो। कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७—० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि नेपाली टोलीले दोस्रो छनोट खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २—० गोलले हराएको थियो। उक्त खेलमा दुवै गोल अञ्जन बिष्टले गरेका थिए।
विश्वकप छनोटको तीन खेलमा नेपाली टोलीले १२ गोल खाइसकेको छ भने केवल दुई गोल गर्न सकेको छ । नेपालले तीनवटै छनोट खेल ‘अवे’ मैदानमा खेलेको हो। विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा पनि नेपालभन्दा अस्ट्रेलिया निकै अगाडि छ। अस्ट्रेलिया ४४औं र नेपाल एक सय ६१औं स्थानमा छन्।
समूह ‘बी’ मा हालसम्म दुई खेल खेलेको अस्ट्रेलिया अपराजित रहँदै ६ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। दुई खेल खेलेको कुवेत कुवेत तीन अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ।
तीन अंकसहित जोर्डन तेस्रो र तीन खेल खेलेको नेपाल तीन अंकसहित चौथो स्थानमा छन्। अघिल्ला दुबै खेलमा हार भोगेको चाइनिज ताइपेई भने तालिकाको पाँचौं स्थानमा छ।
अस्ट्रेलियासँग खेलेपछि नेपालले असोज २८ मा जोर्डनविरुद्ध उसैको घरेलु मैदानमा खेल्नेछ।