अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा पछिल्लो समय विवादमा छन्। एक अन्तर्वार्तामा 'ग्रासरुट' फुटबलको विषयमा बोल्दा शेर्पाले 'तराईमा राष्ट्रियता कम छ' भनेका थिए।
शेर्पाले विवादित अभिव्यक्ति दिएको भन्दै संसदमै कारबाहीको माग उठेको थियो।
शेर्पाको सो अभिव्यक्तिको विषयमा सोमबार बसेको एन्फा कार्यसमितिको बैठकमा पनि कुरा उठेको छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र केन्द्रीय सदस्य दावा लामाले शेर्पाको अभिव्यक्तिको विषयमा जवाफ मागेका हुन्।
अनलाइन भर्चुल माध्यमद्वारा भएको बैठकमा लामाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई कारबाही गर्दा विवादित अभिव्यक्ति दिने अध्यक्ष शेर्पालाई 'किन कारबाही नगर्ने?' भनेर प्रश्न गरेका थिए।
वरिष्ठ उपाध्यक्ष नेम्बाङले अध्यक्षको अभिव्यक्ति सदनमा समेत उठेकाले एन्फाले यस विषयमा छानविन गर्नु पर्ने धारणा राखेका थिए।
'वरिष्ठ उपाध्यक्ष नेम्बाङले अध्यक्षज्यूको अभिव्यक्ति विवादमा परेकाले एन्फाले छानविन समिति गठन गर्नुपर्ने धारणा राख्नुभयो,' स्रोतले भन्यो,'छानविन समितिले प्रतिवेदन नबुझाए सम्म अध्यक्षले राजीनामा दिनुपर्ने नेम्बाङले माग गर्नुभयो।'
यो पनि :- एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा
नेम्बाङले संस्थाको गरिमामाथि आँच आएकाले छानविन गरेर सत्यतथ्य पत्ता लगाउनु पर्ने बताएका थिए।
नेम्बाङको मागमा लामाबाहेक अन्य पदाधिकारी तथा सदस्याले साथ दिएनन्। अध्यक्ष शेर्पाले आफ्नो अभिव्यक्तिबारे प्रष्ट नपारे पनि 'पूरा अन्तर्वार्ता हेरेर बोल्न' भनेका थिए।
नेम्बाङले अध्यक्षले आफ्नो अभिव्यक्तिको विषयमा विज्ञप्ती निकालेर स्पष्ट पार्नु पर्ने समेत माग राखेका थिए। तर शेर्पाले विवादित 'अभिव्यक्ति दिएको हो वा होइन' केही पनि बताएको स्रोतले जनाएको छ।
अध्यक्ष शेर्पाको अभिव्यक्तिको विषयमा कुरा उठे पनि एन्फाले यस विषयमा कुनै पनि निर्णय गरेको छैन। अभिव्यक्तिको विषयमा निर्णय नभएपछि नेम्बाङले नोट अफ डिसेन्ट लेख्न पाउनु पर्ने माग गरेका थिए। तर अध्यक्ष शेर्पाले २-३ दिन भित्रमा निर्णयहरू पठाउने र त्यसपछि नोट अफ डिसेन्ट लेख्न नेम्बाङलाई भनेका छन्।
विहान ११ बजेदेखि सुरु भएको अनलाइन भर्चुल बैठक साँझ ६ बजेसम्म चलेको थियो। बैठकमा एन्फाका निर्वाचित सदस्य भन्दा पनि मनोनित सदस्यले बढी बोलेका थिए।