साफ महिला च्याम्पियनसिपको १० वर्षको इतिहासमा मंगलबार भारतले पहिलो हार बेहोर्यो। यसअघिका पाँच संस्करणकै उपाधि जितेको भारतलाई १० वर्षपछि साफ महिला च्याम्पियनसिपमा बंगलादेशले हार चखायो।
काठमाडौंको दशरथ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा भारतलाई बंगलादेशले ३-० गोलले पराजित गर्यो। जितसँगै समूह विजेता बनेको बंगलादेशले भारतमाथि पहिलो पटक जित निकाल्दै अर्को इतिहास बनायो।
भारतले भने साफमा मंगलबारअघिसम्म खेलेका २५ खेलमा हार बेहोर्नु परेको थिएन। जारी छैटौं संस्करणसम्मको साफमा भारतले २५ खेलमा २४ खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो।
२०१६ को महिला साफको समूह चरणमा बंगलादेशसँग बराबरी रोकिनु मात्र भारतको खराब नतिजा थियो। त्योबाहेक भारत २४ खेलमा विजयी भएको थियो। साफका २५ खेलमा १५० गोल गरेको भारतले ६ गोल मात्र खाएको थियो।
साफ महिला च्याम्पियनसिपको २६औं खेलमा भारतले हार बेहोर्दा दोस्रो पटक समूह उपविजेतामा सीमित हुनुपर्यो।
लगानी र अनुभवको हिसाबमा भारत साफको सबैभन्दा बलियो महिला टिम हो।
तर यसपटक बंगलादेशले उत्कृष्ट खेल देखाउँदै भारतलाई समूह चरणमै सचेत गरासकेको थियो। बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० र दोस्रो खेलमा पाकिस्तानलाई ६-० गोलले पराजित गरेको थियो।
अब बंगलादेशले फाइनल प्रवेशका लागि शुक्रबार भुटानसँग खेल्नेछ। अर्को सेमिफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।
बंगलादेशले भारतमाथि जित निकाल्नुको एउटै कारण छ, महिला फुटबलमा गरेको लगानी। उसले महिला फुटबल विकासका लागि ग्रासरुट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार बंगलादेश फुटबल फेडेरेसनले विभिन्न क्षेत्र र जिल्लाका लागि सन् २०२० मा एउटा रोडम्याप कार्यान्वयनमा ल्याएको थियो।
जसमा ६ सय पुरुष र १८० महिला सहभागी गराइएको थियो। यो अभियान विशेष गरी ग्रामिण क्षेत्रमा केन्द्रीत छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यसयता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो।
सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइनिज ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यसयता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।
सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
सन् २०२२ को साफ च्याम्पियनसिपका लागि नेपाल आउनुअघि बंगलादेशले मलेसियासँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा बंगलादेशले मलेसियाको पोस्टमा ६ गोल गरेको थियो। दोस्रो खेल भने गोलरहित बराबरीमा सकियो।
सन् २०२२ मा अहिलेसम्म खेलेका पाँच खेलमा अपराजित रहेको बंगलादेशले चार खेलमा जित निकालिसकेको छ।