नर्वेजीयन खेलाडी एर्लिङ हालान्डको कीर्तिमानी गोलसँगै इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि दौडलाई बलियो बनाएको छ।
गएराती भएको खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले रेलिगेसन जोनको लेस्टर सिटीमाथि ३-१ को जित निकाल्दै शीर्ष स्थानको आर्सनलसँगको दूरी तीन अंकमा छोट्याएको छ।
सिटीको जितमा हालाण्डले २ तथा जोन स्टोन्सले १ गोल गर्दा केलेची इहेनाचोले लेस्टरका लागि सान्तवना गोल गरे।
पहिलो हाफसम्म ३-० ले अग्रता लिएको सिटीले दोस्रो हाफमा गोल गर्न नसक्दा लेस्टरले गोल फर्काएको थियो।
पहिलो हाफसम्म मात्र खेलेका हालाण्डले खेलको २५ औं मिनेटमा २ गोल गरिसकेका थिए।
त्यसअघि स्टोनिससले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। उनले रोड्रीको पासमा गोल गरेका थिए।
१३ औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको १२ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता तेब्बर पार्दा लिगमा यो सिजन व्यक्तिगत गोल संख्या ३२ पुर्याए।
यो सँगै हालाण्डले लिभरपुलका फरवार्ड मोहम्मद सलाहले ३८ खेलमा प्रिमियर लिगको एकै सिजनमा बनाएको ३२ गोलको कीर्तिमानलाई बराबरी गरेका छन्।
सलाहले सन् २०१७-१८ को सिजनमा उक्त कीर्तिमान बनाएका थिए।
२२ वर्षीय हालाण्डले यो सिजन सर्वाधिक गोलको कीर्तिमान बनाउन सक्नेछन्।
आफ्नो करियरको पाँचौ क्लबबाट खेलिरहेका हाल्यान्डले लिगमा अझै ८ खेल खेल्न बाँकी रहेको बेला उनी सर्वाधिक गोलको कीर्तिमान नजिक छन्।
प्रिमियर लिगको एउटा सिजनको सर्वाधिक गोल संख्या ३४ छ। सन् १९९३-९४ मा एलेन शेरेरले यो कीर्तिमान बनाएका थिए। त्यतिबेला प्रिमियर लिगमा ४२ खेल हुन्थ्यो।
३८ खेलको प्रिमियर लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गरेका थिए। जुन कीर्तिमान हालाण्डले आज बराबरी गरेका छन्।
यद्यपि युरोपको शीर्ष पाँच लिगमा मेसीले सन् २०११-१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न सक्नेछन्।