इटालियन क्लब युभेन्टसलाई गरिएको कारबाही फिर्ता भएको छ।
इटालीको सर्वोच्च खेलकुद अदालतले मुद्दालाई पुन: जाँच गर्न आदेश दिएसँगै लिगमा १५ अंक घटाउनेलगायतका कारबाही फिर्ता भएको हो।
ट्रान्सफर बजारमा खेलाडी खरिद बिक्री तथा अन्य विषयको आर्थिक प्रतिवेदनमा हिसाब सही नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई गत जनवरीमा कारबाहीस्वरूप लिगमा १५ अंक घटाउने निर्णय गरेको थियो।
गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो। तर युभेन्टस माथि पुन: छानविन गर्दा क्लबको गल्ती देखिएकाले गत जनवरीमा महासंघले कारबाही गर्दै लिगमा १५ अंक घटाइदिएको थियो।
क्लबले तत्कालीन अध्यक्ष आन्द्रे एग्नेलीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्म प्रतिबन्ध लगाएको थियो।
एग्नेलीलाई २४ महिना र इंल्याण्डको प्रिमियर लिग क्लब टोटेनहम हटस्परका प्रबन्ध निर्देशक, पूर्व खेलकुद निर्देशक, फाबियो पाराटिसीलाई ३० महिनाको प्रतिबन्ध लगाएको थियो।
कारबाही फिर्ता भएसँगै क्लब अब सिरी ए मा सातौं बाट पुनः तेस्रो स्थानमा पुगेको छ। यद्यपि नयाँ सुनुवाईपछि पुनः क्लबलाई कारबाही हुन सक्ने सम्भावना रहेको छ।
यता टोटनह्यामका फुटबल निर्देशक फाबियो पाराटिसीलाई सोही मुद्दामा लगाइएको ३० महिनाको प्रतिबन्धविरुद्धको अपिल भने खारेज भएको छ।
यो सिजन २० खेल खेल्न बाँकी हुँदा युभेन्ट्स सिरी ए मा ३७ अंकका साथ तेस्रो स्थानमा रहेको बेला कारबाहीमा परेको थियो।
यो कारबाही फुकुवासँगै ८ खेल खेल्न बाँकी रहेको अवस्थामा शीर्ष स्थानमा रहेको नेपोलीभन्दा १६ अंक पछि छ। यस्तै दोस्रो स्थानको लाजियोभन्दा २ अंकले पछि छ।
लिगमा ३० खेलबाट १८ जित, ५ बराबरी र ७ हारसहित ५९ अंक जोडेर युभेन्टस तेस्रो स्थानमा छ।