आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सिजनको सहिद स्मारक ए डिभिजन लिगमा लगातार पाँचौं खेलमा पराजित भएको छ।
मनाङलाई मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबले १-० गोलले पराजित गर्यो।
पुलिसको जितमा खेलको सातौं मिनेटमा मोहमद असिकले पेनाल्टीमार्फत् गोल गरेका थिए। जारी सिजनमा पुलिसको यो दोस्रो जित हो।
पूर्व च्याम्पियन पुलिस ६ अंक जोडेर अंक तालिकाको पुछारमा छ।
यता खराब लयबाट गुज्रिरहेको मनाङ लिग इतिहासमा पहिलो पटक लगातार पाँच खेलमा पराजित भयो।
२०४३ सालदेखि ए डिभिजन लिग खेल्न थालेको मनाङले इतिहासकै खराब प्रदर्शन गर्ने क्रममा लगातार पाँच पराजय भोगेको हो।
अघिल्लो खेलमा मनाङमाथि एफसी खुमलटारले २-१ गोलको जित हात पारेको थियो। त्यसअघि मनाङलाई सातदोबाटो, त्रिभुवन आर्मी र जावलाखेलले पराजित गरेका थिए।
पछिल्ला पाँच खेलअघि भने मनाङ अपराजित थियो। मनाङ १२ खेलबाट १५ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ।
यता दशरथ रंगशालामा भएको खेलमा एनआरटीमाथि फ्रेन्ड्स क्लबले ३-१ गोलको जित हात पारेको छ।
फ्रेन्ड्सको जितमा रफिक अमिडुले १४, टोरिक हेबरिनले पहिलो हाफको इन्जुरी टाइम र प्रकास बुढाथोकीले ७६ मिनेटमा गोल गरे।
एनआरटीका लागि सन्जिव विष्टले ४० मिनेटमा गोल गरे।
फ्रेन्ड्स अंक तालिकामा १४ अंक जोडेर दशौं स्थानमा छ। एघारौं स्थानमा झरेको एनआरटीको १३ अंक छ।