स्पेनिस ला लिगमा जिरोनाले रियल म्याड्रिडलाई ४-२ गोलले पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा जिरोनाको जितमा अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरे।
न्युयोर्क सिटीबाट लोनमा जिरोनामा आएका उनले खेलको १२, २४, ४६ र ६२ मिनेटमा गोल गरेका थिए।
हारसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ। शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ७६ अंक छ भने दोस्रो स्थानको रियलको एक खेल बढि खेल्दै ६५ अंक छ। जिरोना ४१ अंक जोड्दै नवौं स्थानमा छ।
रियलले दुई सातापछि च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ।
रियल म्याड्रिड विरुद्ध ला लिगाको खेलमा चार गोल गर्ने कास्टेलानोस पछिल्लो ७५ वर्षमा पहिलो खेलाडी बने।
डिसेम्बर १९४७ मा एस्टेबान इचाभेरियाले म्याड्रिड विरुद्ध रियल ओभिडोको लागि पाँच गोल गरेका थिए।
अर्जेन्टिनाका २४ वर्षीय कास्टेलानोसले सिजनको ला लिगामा ११ गोल गरेका छन्। उनले २०१८ मा न्युयोर्कमा आबद्ध हुनुअघि चिली र उरुग्वेमा आफ्नो क्लब फुटबल खेलेका थिए।