केबिन डे ब्रुएन र एर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा उपाधिको दाबेदार म्यानचेस्टर सिटीले आर्सनलमाथि सानदार जित निकालेको छ।
गएराति भएको इङ्लिस प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण खेलमा सिटीलाई जिताउन ब्रुएनले २ तथा हालाण्ड र स्टोन्सले समान १-१ गोल गरे।
यो जितसँगै डिफेन्डिङ च्याम्पियन सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी २ मा छोट्याएको छ। यद्यपी उसले अझै २ खेल कम खेलेको छ।
लिगमा ३३ खेल खेलेको आर्सनलको ७५ अंक हुँदा ३१ खेल खेलेको सिटीको ७३ अंक पुगेको छ।
इतिहाद स्टेडियममा खेलको सातौं मिनेटमै सिटीले सुरूआती अग्रता लिएको थियो। हालाण्डको पासमा ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा ब्रुयनकै पासमा स्टोन्सले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा पनि आफ्नो लय कायमै राखेको सिटीले ५४ औं मिनेटमा अग्रता तेब्बर बनायो। हालाण्डकै पासमा ब्रुयनले गोल गर्दै सिटीलाई एक पक्षीय अग्रता दिलाए।
खेलको ८६ औं मिनेटमा होल्डिङले गोल गर्दै आर्सनलाई खेलमा फर्कने संकेत गरे पनि त्यो धेरै ढिलो भइसकेको थियो।
खेलको अन्तिम इन्जुरी समयमा फोडेनको पासमा हालाण्डले गोल गर्दै टोलीलाई ४-१ को सानदार जित दिलाए।
एफए कपमा जितसहित सिटीले यो सिजन आर्सनललाई हराएको यो तेस्रो पटक हो।
सिटीले अब आइतबार फुलह्यामसँग खेल्नेछ। यदि उक्त खेल जितेमा एक खेल कम खेल्दै शीर्ष स्थानमा पुग्नेछ।