१५ वर्षीय विंगर लमिन यामल स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। यामलले शनिबार रियल बेटिसविरुद्ध डेब्यू खेल्दै कीर्तिमान बनाएका हुन्।
उनले कीर्तिमान भएको ला लिगाको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ४-० गोलले हराउँदै ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ।
आगामी जुलाईमा १६ वर्ष पूरा हुने यामल बार्सिलोनाका एकेडेमी उत्पादन हुन्। उनी शनिबार ८४ औं मिनेटमा गाभीको स्थानमा मैदान प्रवेश गरेका थिए।
१५ वर्ष २९० दिन उमेरमा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका यामल ला लिगा खेल्ने पाँचौं कान्छा खेलाडी हुन्।
शनिबार बार्सिलोनाको जितमा एन्ड्रियास क्रिस्टेनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले गोल गर्दा बेटिसका गुइडो रोड्रिग्वेजले आत्मघाती गोल गरे।
मालोर्काका युवा खेलाडी लुका रोमेरो ला लिगा खेल्ने कान्छा खेलाडी हुन्। उनले १५ वर्ष २१९ दिनको उमेरमा २०२० मा रियल म्याड्रिडविरुद्ध खेल्दा ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका थिए।
यामललाई बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले 'निडर' भनेका छन्। उनलाई गत आइतबार एट्लेटिको मड्रिडविरुद्ध पहिलो पटक टोलीमा समावेश गरिएको थियो।
शनिबार नोउ क्याम्पमा बेटिसका ४१ वर्षीय बेटिसका विंगर जोआकिन पनि मैदान उत्रिएका थिए। यामलको जन्म हुँदा उनले २१५ ला लिगा खेल खेलिसकेका थिए।
स्पेनमा जन्मिएका यामलले सन् २०१२ देखि बार्सिलोनाको युथ टिमबाट खेलेका थिए। यस्तै उनले स्पेनको यू-१५ देखि यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन्।
यामलका बुबा आमा भने स्पेनिस होइनन्। उनका बुबा मोरक्को तथा आमा गुएनाका हुन्।