सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेल युथमाथि २-१ गोलको जित निकालेको हो।
पुलिसको जितमा मोसेस ग्याबाहले ३५ मिनेटमा पहिलो गोल गरे। ८८ मिनेटमा अहमद हिजाजीले पुलिसको अग्रता दोब्बर पारे।
जावलाखेलका विपिन कँडेलले ८९ मिनेटमा गोल फर्काएका थिए।
जितसँगै पुलिस अंक तालिकाको पुछारबाट १२औं स्थानमा उक्लिएको छ। १३औं चरणसम्म पुछारमा रहेको पुलिस लगातार चार जित निकाल्दै रेलिगेसन जोड्न सफल भयो।
यता हार पछि पनि जावलाखेल शीर्ष स्थानमा छ। जावलाखेल १४ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा छ। १२औं स्थानको पुलिसको १४ खेलबाट १५ अंक भएको छ।
च्यासल मैदानमा भएको खेलमा थ्रीस्टार क्लब र एफसी खुमलटारले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
थ्रीस्टारका लकेन लिम्बूले चौथो मिनेटमा गोल गरेका थिए। खुमलटारका लगि मेसउकेले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल गरे।
५१ मिनेटमा स्टेफिन बिनोङले दोस्रो गोल गर्दा खुमलटारले २-१ गोलको अग्रता लियो। तर ६८ मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले बराबरी गोल गरे।
बराबरीसँगै थ्रीस्टारले शीर्ष स्थानमा उक्लने मौका गुमायो। दोस्रो स्थानको थ्रीस्टारको १४ खेलबाट २३ अंक भएको छ। खुमलटार भने १४ अंक जोडेर अंक तालिकाको पुछार १४औं स्थानमा झरेको छ।