एर्लिङ हालाण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति लिग अन्तर्गत वेस्ट ह्यामलाई ३-० गोल अन्तरले हराउँदै सिटी तालिकाको शीर्ष स्थानमा फर्किएको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्दै तीन गोल गरेको थियो।
खेलको ५० औं मिनेटमा रियाद महरेजको फ्रिकिक बललाई नाथन एकेले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
खेलको ७० औं मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। यो गोलसँगै उनले लिगमा ३५ गोल पूरा गरे। लिगमा एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका उनले ३३ खेलबाट ३५ गोल पूरा गरेका हुन्।
खेलको ८५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई स्पष्ट जित दिलाए।
यो जितसँगै सिटीले ३३ खेलबाट २५ जितसहित ७९ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको हो। एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ।
यता पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ।
हालाण्डको कीर्तिमान
म्यानचेस्टर सिटीका युवा स्ट्राइकर एर्लिङ हालाण्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन्।
२२ वर्षे नर्वेजियन खेलाडीले एलन शियरर र एन्ड्रयु कोलले यसअघि बनाएको उत्कृष्ट ३४ गोलको कीर्तिमान भंग गर्ने क्रममा बिहिबार राति वेस्टह्याम विरुद्ध गोल गर्दै आफ्नो ३५ औं लिग गोल पूरा गरे।
सन् १९९३-९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए। त्यतिबेला प्रिमियर लिगमा ४२ खेल हुन्थ्यो।
३८ खेलको प्रिमियर लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान बनाएका थिए।
इङ्लिस फुटबलमा आफ्नो डेब्यू सिजनमा हालान्डले वर्षको आफ्नो ३१ औं खेलमा यो कोशेढुंगा पार गरेका हुन्।
हालाण्डले सन् २०१७-१८ मा लिभरपुलका लागि मोहम्मद सलाहले ३८ खेलबाट बनाएको ३२ गोलको कीर्तिमान यसअघिनै आफ्नो नाममा लेखाइसकेका छन्।
'यो मेरा लागि विशेष रात र विशेष क्षण हो। म साँच्चै खुसी र गर्व गर्छु,' हालान्डले खेलपछि भने, 'मेरो सफलतामा साँच्चै खुसी छु र टोलीको तीन अंकको लागि पनि उतिकै खुसी छु। त्यो महत्त्वपूर्ण छ।'
इतिहाद स्टेडियममा अन्तिम सीटी बजाउँदा उनलाई उनका सहकर्मी, प्रशिक्षक पेप गार्डियोला र क्लबका ब्याकरूम स्टाफले गार्ड अफ अनर दिएका थिए।
'मैले यो कहिले पनि देखेको छैन,' हालान्डले भने, 'यो गोल गर्न पाउँदा मलाई अनौठो र गर्वलायक अनुभूति भएको छ।'
आफ्नो करियरको पाँचौ क्लबबाट खेलिरहेका हाल्यान्डले लिगमा अझै ५ खेल खेल्न बाँकी रहेको बेला युरोपको शीर्ष पाँच लिगमा मेसीले सन् २०११-१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न सक्नेछन्।