अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्रमुख सल्लाहकारबाट नवीन पाँडेले राजीनामा दिएका छन्। उनले सोमबार साँझ एन्फा अध्यक्षलाई राजीनामा दिएका हुन्।
यसअघि गत साउन २६ गते एन्फाको कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी परिवर्तन गर्दै अध्यक्षको सल्लाहकारको जिम्मेवारी दिएको थियो।
पाँडेले अध्यक्षलाई दिएको राजीनामापत्रमा एन्फामा पुरानै प्रवृत्तिको पुनरावृत्ति भएको उल्लेख छ।
‘मैले सदैव नेपालको फुटबल खेलको परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदै आइरहेको छु र सकेको योगदान दिँदै आएको छु। मैले व्यक्तिगत स्वार्थ कहिल्यै राखिनँ,’ राजीनामापत्रमा भनिएको छ, ‘विदेश घुम्ने, पद र पैसालाई प्राथमिकतामा राखिनँ।’
बेथिती र अव्यवस्थाका बारेमा फुटबलप्रेमीमाझ आफ्नो विचार खुलस्त राख्दै आएको उनले राजीनामा पत्रमा लेखेका छन्।
‘नेपाली फुटबल विकासको आमूल प्रतिवर्तन होस् भन्ने नै मेरो चाहना थियो। परिवर्तनको पक्षमा अग्रणी भूमीका निर्वाह गर्दै आए तर अपेक्षाकृत कार्य हुन सकेन। पुरानै प्रवृत्तिको पुनरावृत्ति भइनै रह्यो। सुध्रने छाँटकाँट देखिएन’ राजीनामापत्रमा उल्लेख छ, ‘यथास्थितिमा पदमा टाँसिरहदा मैले आफूलाई नै गिज्जाइरहेको अनुभूति भयो। यसर्थ मैले आजैका दिनबाट एन्फा अध्यक्षको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएको छुँ।’
गत वर्ष भएको एन्फा कार्यसमितिको निर्वाचनमा अध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहलाई जिताउन पाँडेको प्रमुख भूमिका थियो।
एन्फा कार्यसमितिमा नेम्बाङ सुरुदेखि नै अल्पमतमा परेका थिए। जसका कारण नेम्बाङले आफ्नै निर्णयमा समेत पछि हट्न परेको थियो।
एन्फाको पछिल्लो अवस्थालाई पाँडेले अव्यवसायीक झुण्डले आफ्नो व्यक्तिगत लाभ लिन एन्फालाई घेरेर फाइदा लिएको संज्ञा दिएका छन्।
एन्फामा नेम्बाङ नेतृत्वमा आएको एक वर्ष बित्न नपाउँदै पाँडेले राजीनामा दिनु पर्ने अवस्था कसरी आयो? यी लगायतका विषयमा सेतोपाटीसँग पाँडेले व्यक्त गरेको विचार पढ्नुहोस् -
• हामीले नेपाली फुटबललाई राम्रो मार्गमा लैजानका लागि सकारात्मक परिवर्तन गर्न धेरै मिहिनेत गर्यौं। हिजो परम्परागत शैलीमा एन्फा चलेको थियो। एन्फाको कार्यसमिति बैठकअघि एजेन्डा नदिने, मनपरी निर्णयहरू पछि थप्ने लगायतका विभिन्न कारणले हामीले सकारात्मक परिवर्तन ल्याउनु पर्छ भनेर लागेका थियौं। प्रतिबन्धित गणेश थापाको पालादेखि कर्माछिरिङ शेर्पासम्म लडाइँमा लाग्यौं।
• तर शक्तिमा आइसकेपछि चाहे त्यो कर्माछिरिङ होस् या पंकजविक्रम नेम्बाङ होस् उनीहरूसहित अव्यवसायीक झुण्डले आफ्नो व्यक्तिगत लाभ लिनका लागि एन्फालाई घेरेर फाइदा लिने संस्कार रहेछ। राम्रो काम गर्छु भन्ने मान्छे त्यहाँ धेरै टिक्न सक्दैन। तर म त्यहाँ टिक्न सक्ने-नसक्ने भन्दा पनि नेपाली फुटबल जाने बाटोमा हिजो भएका नराम्रा कुरालाई सफा गरौं भन्ने बाटोमा छु। जुन गन्तव्यमा जानु पर्ने अहिले गाडी अर्कै दिशामा गएको छ भने त्यहाँ बसिरहने कुरा आउँदैन। त्यसैले मैले फेरि आफ्नो पुरानै सफा सुघ्घर मिसनलाई निरन्तरता दिएको हो।
• अध्यक्षज्यूले महासचिव ल्याउनु भयो। महासचिव को ल्याउने भन्ने कुरा अध्यक्षको हो। तर अहिले एन्फाको सचिवालय बेकामको भएको छ। त्यहाँबाट हुने जुनसुकै निर्णय पनि नेपाली फुटबललाई राम्रो दिशालाई लैजाने खालका छैनन्। सचिवालयको मूख्य व्यक्ति महासचिव नै आफै सक्षम नभएपछि त्यहाँबाट धेरै आशा गर्ने कुरा पनि आउँदैन। सामूहिक नेतृत्वमा कसैको सबल पक्ष हुन्छ, कसैको कमजोर पक्ष हुन्छ, त्यसलाई स्विकार गर्ने हो। तर एक वर्ष हुन लागिसक्यो सचिवालयबाट केहि काम नहुने भयो। उदाहरणका लागि हिजोका दिनमा अध्यक्षज्यूले श्वेतपत्र निकाल्छौ भनेर भन्नुभयो, त्यो श्वेतपत्र निकाल्ने काम सचिवालयको हो। श्वेतपत्र निकाल्ने निर्णय कार्यसमितिबाट पनि भयो। निर्णय भएको कुरा कार्यान्वयन गर्ने काम महासचिवको हो। तर अहिलेसम्म श्वेतपत्र जारी हुन सकेन। यसलाई महासचिवले राजनीतिक पत्र हो भन्दै अध्यक्षले निकाल्नु पर्छ भन्नु हुन्छ रे! आर्थिक कुराको तथ्यमा आधारित हुने रिपोर्ट कसरी राजनीतिक भयो? यदि आफूले नबनाउने भए लिखित रूपमा कार्यसमितिलाई प्रश्न गर्नुपर्यो। अब त श्वेतपत्र निकाल्यौ भने एन्फा कति खाल्डोमा परेको छ थाहा हुन्छ। अहिलेको एन्फा हिजो कर्माछिरिङको पालामा भन्दा पनि नराम्रो खाल्डोमा परिसक्यो। हिजो व्यवसायीकता नभएर कर्मालाई बाइबाइ गर्नु परेको थियो। आज त हिजोको भन्दा डबल नै बढि समस्या छन्। श्वेतपत्र निकालेको भए हिजोको के थियो आज कस्तो अवस्था छ भन्ने मापन हुन्थ्यो, त्यसले मार्गनिर्देश पनि गर्थ्यो। त्यसले सपार्ने कुरा पनि हुन्थ्यो। तर सपार्ने कुनै लक्षण नै देखिएन।
• भ्रष्टाचार भन्नाले पैसाको मात्र लेनदेखको कुरा होइन। यहाँ त वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का पदाधिकारीलाई ९९ हजार रूपैयाँ तलब तोकियो। पदाधिकारीले पैसा लिएर काम गर्ने कुरा कुनै पनि नैतिकताले नदिने हो। यसमा कन्फिक्ट अफ इन्ट्रेष्ट जोडिन्छ। अब अरू संयोजकहरूलाई पैसा दिने कि नदिने भन्ने कुरा आउँछ?
• प्रत्येक कुरामा यहाँ मान्छे मिलाउनु पर्छ। कहिले गणेश थापाको मान्छे मिलाउने कहिले कर्माको मान्छे मिलाउने भनेर आफ्नो पद जोगाउनेतर्फ मात्र ध्यान छ। यहाँ संस्थाको कसैलाई मतलब छैन। जसरी हुन्छ संस्थाको पैसा खाउ भन्ने ध्यान छ। हिजो गणेश थापाको पालादेखि कर्माको पालासम्म आउदा अमितव्ययी धेरै बढ्यो। अहिले त पदाधिकारीलाई नै खर्च दिएर राखेको छ। जस्तै हिजोकै निर्णयमा तीन जना सहायक महासचिवलाई ७५ हजार रूपैयाँ तलब दिने निर्णय भयो। उनीहरूलाई तलब दिने टिओआर के हो? उनीहरूलाई के कामका लागि तलब दिने? उनीहरूलाई तलब दिने उद्देश्य के हो? उनीहरूलाई दिने बजेटको स्रोत के हो? यस्ता यस्ता गैरजिम्मेवार काम भइरहेको छ।
• अब फेरि सचिवालयको कुरा गर्दा महसचिवलाई अंग्रेजी लेख्न नआउने कमजोरी छ भने उहाँलाई एक जना सहायकको सुविधा छ। यसमा उहाँले राम्रो खालको फुटबलको ज्ञान भएको मान्छे ल्याएर राख्न पर्ने थियो। तर उहाँले आफ्नै नातेदार त्यो पनि अनक्वालिफाइड मान्छे राख्नु भयो। तलब पनि ३५-४० हजार रूपैयाँ दिएर राखिएको छ। १२ कक्षा पढेकोलाई यति तलब दिनु हाम्रो मार्केटअनुसार ठिक हो कि होइन हेर्नु पर्यो। आफ्नो मान्छेलाई राख्ने, संस्थाको भार बढाउने, संस्थाको पेट्रोल दिने जस्ता काम भइरहेका छन्। एकदमै अव्यवसायीक, कर्मचारीमाथि तानाशाह प्रवृत्ति देखाइएको छ। कहिले पनि संस्था नचलाएको मान्छेमा कर्मचारीलाई सशक्तिकरण गराउनु पर्छ भन्ने नै छैन। संस्थाको पैसालाई कसरी मितव्ययी रूपमा खर्च गर्ने, कामहरू कसरी प्रभावकारी रूपमा गर्ने भन्ने पनि छैन। कार्यकुशल कसरी गर्ने भन्ने ज्ञान नै छैन। यसरी अदक्ष मान्छे राख्ने जिम्मेवारी अध्यक्षले लिनुपर्छ।
• यसअघि कार्यसमितिले लोकप्रिय निर्णय गर्यो। संस्थाका पुराना गाडी बेचेर आएको पैसा खेलाडी उपकार कोषमा राख्ने भनियो। तर अहिले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले त्यो गाडी चढेर हिड्नुहुन्छ। यो त भ्रष्टाचारको पनि उच्चतम अवस्था हो। अरू पदाधिकारीलाई नचाहिने, उहाँलाई मात्र किन चाहिने गाडी? यहाँ फेरि शक्ति सन्तुलनका लागि भन्दै पूर्णमान चित्रकारलाई सहकोषाध्यक्ष बनाइएको छ, जसको एन्फामा पेश्की नै बाँकी छ। यसमा पनि कन्फिक्ट अफ इन्ट्रेष्ट हुन्छ। पहिलो कुरा पेश्की भएको मान्छेलाई त्यसरी ल्याउन मिल्दैन।
• ए डिभिजन लिगको ताल यस्तो छ। एन्फा सचिवालयले राम्रोसँग सञ्चार सम्पर्क गर्न नसक्दा फिफा/एएफसीबाट आउनु पर्ने पैसा पनि समय आउन सकेको छैन। समयमै इमेलको जवाफ दिने गरिएको छैन। फिफा/एएफसीले आर्थिक इन्बार्गो गरिरेहको छ। पैसा दिनलाई कडा गरिरहेको छ। तर एन्फाको खर्च गर्ने तरिका पुरानै छ। बैठक बस्ने तरिका पनि पुरानै छ। हिजो अध्यक्षले परिवर्तन गर्छौ भन्नु भयो। तर कुनै कुरा प्रतिबद्धताअनुसार भएको छैन। खाली कसरी बच्ने, कसरी चार वर्ष टिक्ने भन्ने कुरामै केन्द्रीत भइएको छ। यो सबै खेलको पछाडि, म मान्छे तोकेरै भन्छु वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई छन्।
• विश्वकपको टिकट खरिदमा दुनियाँले मलाई दोष देखाए। विश्वकप टिकट किन्दा डलरमा तिर्नु पर्ने भयो। तर हामी डलरमा तिर्न सक्ने अवस्थामा थिएनौं। हाम्रो टिकट एएफसीले किनिदियो। त्यहिबेला एएफसीले हामीलाई दिने बजेटबाट टिकट किनिदिन्छु, तर त्यो रकम एएफसीले हामीलाई दिने विकास बजेटमा ल्याएर हाल्नु भनेको थियो। तर यहाँ मान्छे मिलाउनलाई दिपक खतिवडा, विराटजंग शाही, महेन्द्र क्षेत्री लगायतले एन्फाबाट टिकट लिएर गए। तर अहिलेसम्म पैसा तिरेका छैनन्। वीरबहादुरले टिकट दिएको मान्छेसँग कुरा गर्दा उनीहरूले टिकटको पैसा तिरसकेको भन्छन्। तर अहिलेसम्म वीरबहादुरले त्यो टिकटको पैसा तिर्नु भएको छैन। ३१ लाख रूपैयाँ आएको छैन। त्यो भ्रष्टाचार भएन?
• यहाँ कस्तो छ भने, को पार्टीबाट चल्छ, कोहि कर्मा ग्रुप, कोहि गणेश थापा ग्रुप भनेर हिडिरहेका छन्। यी सबै आ-आफ्नो फाइदाका लागि मात्र हेर्छन्। फुटबल विकासमा यिनीहरूको कुनै विचार छैन।
• मलाई एन्फा चलायो भनेर आरोप लगाछन्। मबाट एन्फा चलेको छैन। मैले गर्ने भनेको विदेशी राष्ट्रसँग सम्झौताका लागि काम गर्ने हो। साउदी अरबसँगको सम्झौतादेखि दक्षिण कोरियासँग प्रशिक्षकको तलबका लागि सम्पर्क मैले गरे। जस्तै मैले विदेशीसँग सम्झौता गरेर पानी ल्याए, यहाँ कतिबेला पानी खोल्ने, कुन-कुन धारामा पानी दिने भन्ने भाग लगाउने काम त एन्फाको हो नी त। मैले एन्फालाई सल्लाह दिने हो। तर मैले यो गर, यो मान्छेलाई राख भन्ने होइन। तर मैले दिएको उत्तम विकल्प सहि लागे निर्णय गर्ने काम एन्फाको हो। तर उनीहरू जहिले पनि सबैभन्दा खराब निर्णय गरिरहेका छन्।
• एन्फामा बसिरहे भने यी सबै भएका नराम्रा कामको भागिदार त म पनि हुन्छु। तर म नेपाली फुटबल विकासका लागि हिडेको मान्छे भएको कारणले गर्दा यो पापको भारी बोक्न चाहान्न। मैले राजीनामा दिन पर्ने कारण पनि अहिले भइरहेका नराम्रा काम नरोकिने अवस्था भएकाले हो।
• अहिलेसम्म अध्ययन गर्दा अहिलेका सबै गणेश माध्यमिक विद्यालयका विद्यार्थी हुन्। यिनीहरूबाट केही पनि आशा छैन। जबसम्म नयाँ पुस्ता, फुटबललाई माया गर्ने मान्छे आउँदैन तबसम्म विकास हुँदैन। किनभने यी विद्यार्थीहरू गणेश माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश थापाबाट यसरी शिक्षित भएका छन् कि पहिला जसरी काम हुन्थ्यो अहिले ठ्याक्कै त्यसरी काम गरिरहेका छन्। गणेश थापा अनि कर्माछिरिङले जसरी एन्फा चलाए पंकजको यो नेतृत्व पनि ठ्याक्कै त्यहिँ लाइनमा गइरहेको छ। यहाँ कसरी बहुमत बनाउनेतर्फ केन्द्रीत भइएको छ। बहुमत भएको भन्दैमा के एन्फा बेचिदिने? बहुमतको मलतब यो त होइन नी!
• नेपाली फुटबलको विकास दुई किसिमले हुन्छ। एउटा एन्फाले गर्ने कामले अर्को समयअनुसार आफै हुने विकास। अहिले सबैसँग विभिन्न देशका क्लबसँग आफ्नो व्यक्तिगत सम्बन्ध छ। त्यसैले कति मानिस अहिले यी फटाहासँग लागेर काम छैन भनेर आफ्नो बाटोमा लागेका छन्। मानिसहरू अव्यवसायीक मानिसहरूको पछि लाग्न चाहादैनन्। अहिले नेपाली फुटबलको अवस्थादेखि वाक्क भएर फुटबल खेलाडी विदेश गइरहेका छन्। एउटा कारण त फ्रस्ट्रेसन पनि हो। उनीहरू यहाँ भन्दा राम्रो उता छ भनेर गएका होइनन्, यहाँको अवस्थादेखि दिक्क भएर हो। जबसम्म फुटबललाई व्यवसायिकतामा ढालिदैन तबसम्म फुटबलको भविष्य अन्धकार छ। यो पुरानो घरलाई टालटुल गर्नुभन्दा पनि एकपटक भत्काएर नयाँ घर बनाउनेतर्फ लाग्नु पर्छ।