मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन्।
सहिद स्मारएक डिभिजन लिगको बाँकी खेलका लागि उनी मनाङमा भित्रिएका हुन्। मनिषले सामाजिक सञ्जालमार्फत् मनाङमा भित्रिएको पुष्टि गरेका छन्।
मनिष २०२१–०२२ सिजनका लागि भारतको गोकुलम एफसीको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका थिए। सो वर्ष क्लबले उपाधि जितेको थियो। यो सिजनमा भने क्लब तेस्रो भएको थियो।
यो पनि :- भारतको आइलिगमा अब्बल बनेका नेपालका मनिष
मनाङमा अघिल्लो साता प्रशिक्षक परिवर्तन भएका थिए। क्लबको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त थिए।
सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए।
लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो। लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।
लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइजसँग ३-० गोलले हारेको थियो।
त्यसअघि मनाङलाई नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोले पराजित गरेका थिए। मनाङले ६ खेलको पराजयको यात्रा टुंगाउने क्रममा गत सोमबार आर्मीलाई १-० गोलले हराएको थियो।
मनाङ हाल १७ खेलबाट २१ अंक जोडेर आठौं स्थानमा छ।