इंग्लिस क्लब चेल्सीले टोटेनहमका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाउने भएको छ।
उनी आगामी सिजनदेखि क्लबमा आबद्ध हुनेछन् भने फ्रान्क लाम्पार्ड सिजनको अन्त्यसम्म अन्तरिम प्रशिक्षकको रूपमा रहनेछन्।
पोचेटिनोले स्पेनिस क्लब स्प्यान्योलमा सन् २००९ देखि प्रशिक्षण सुरु गरेका थिए भने उनी २०१३ मा साउथह्याम्टनको प्रशिक्षक नियुक्त भएका थिए।
त्यसपछि चर्चामा आएका उनी २०१४ मा टोटेनहमको प्रशिक्षक बने। पाँच वर्ष टोटेनहममा काम गरेका उनी २०२१ मा पिएसजीमा आबद्ध भएका थिए। तर एक वर्षमै उनी पिएसजीबाट अलग भए।
५१ वर्षीय अर्जेन्टिनी प्रशिक्षकले २०१४ देखि पाँच वर्षसम्म टोटेनहममा हुँदा क्लबलाई सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।
यस सिजनको सुरुमा थोमस टुचेल र ग्राहम पोटरलाई बर्खास्त गरेपछि पोचेटिनो पाँच वर्षमा चेल्सीको छैटौं स्थायी प्रशिक्षक हुनेछन्।
एफए कप र लिग कप दुवैको तेस्रो राउण्डमा म्यानचेस्टर सिटीसँग पराजित भएको चेल्सीले यो सिजन खराब प्रदर्शन गर्यो।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिडसँग हारेको चेल्सीको अर्को सिजन युरोपियन प्रतिस्पर्धामा छनोट हुने सम्भावना छैन।
हाल प्रिमियर लिगमा ११औँ स्थानमा रहेको चेल्सीले पछिल्ला ११ मध्ये एक खेल मात्र जितेको छ, तीमध्ये आठ हारेको छ।