सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र शीर्ष स्थानको जावलाखेल युथ क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
आइतबार च्यासल मैदानमा भएको खेलमा एनकोटो मोसाबीको गोलबाट जावलाखेलले ३३ मिनेटमा अग्रता लिएको थियो।
७५ मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रता दोब्बर पारे।
तर अन्तिम दश मिनेटमा दुई गोल गर्दै मनाङले हार टार्न सफल भयो। मनाङका लागि ८० मिनेटमा भिषण गुरुङले पहिलो गोल गर्दा ९० मिनेटमा सुमित महर्जनले दोस्रो गोल गर्दै मनाङको हार टारे।
अंक तालिकाको शीर्ष स्थानमा रहेको जावलाखेलको १८ खेलबाट ३१ अंक भएको छ। मनाङ २२ अंक जोडेर सातौं स्थानमा छ।
यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले २-२ गोलको बराबरी खेलेका छन्।
खेलको २८ मिनेटमा फरिकको गोलबाट फ्रेन्ड्सले अग्रता लियो। फ्रेन्ड्सका अमित तामाङले ५८ मिनेटमा आत्मघाती गोल गर्दा एनआरटीले बराबरी गर्न सफल भयो।
६६ मिनेटमा अमित तामाङको गोलबाट फ्रेन्ड्सले फेरि अग्रता लियो। तर खेल सकिन एक मिनेट बाँकी छदा एनआरटीका निकोलास सङले बराबरी गोल फर्काए।
अंक तालिकामा फ्रेन्ड्स २० अंकसहित रेलिगेशन जोन छाड्न सफल भयो। फ्रेन्ड्स एघारौं स्थानमा उक्लियो। एनआरटी भने २२ अंकसहित आठौं स्थानमा छ।